गजल

- गरिमा पाण्डेय


#गजल – ✍️✍️✍️✍️

खै किन हो कुन्नि, भित्र भित्रै जलिरहेछ जिन्दगी।
तैपनि निरन्तर आफ्नै गतिमा चलिरहेछ जिन्दगी।

बुझेर पनि बुझ्न नसकिने अद्भुत अनि अचम्मको यो,
समयले पनि बिस्तारै बिस्तारै छलिरहेछ जिन्दगी।

मरुभूमिमा देखिने बालुवाको चमक मात्र रहेछ खुसी त,
सफल हुन अथक सङ्घर्ष गर्दा गर्दै गलिरहेछ जिन्दगी।

वर्ष, महिना, तिथि परिवर्तन भइरहन्छन् सदा सदा,
तर साँच्चै आधा उमेर गन्दा गन्दै ढलिरहेछ जिन्दगी।

मुस्किलले ल्याएको त्यो मन्द मुस्कान मलिन मुहारमा,
त्यै टिक्न नसकेर दुःख, पीडाले नै दलिरहेछ जिन्दगी।

दुःख,पीडा बिर्सिएर प्रकृतिमा रमाउन खोजेर होला सायद,
अझैं पनि सुन्दर संसारको कल्पनामा फलिरहेछ जिन्दगी।

– गरिमा पाण्डेय
😍🤗😊😍😊🤗

यसमा तपाइको मत