
धेरै वर्षपछि भानुभक्तलाई
जन्मदिनको सम्झना भएछ
जन्मघर चँुदी रम्घामा
जन्मदिन मनाउने इच्छाले
देवराजसामु चारदिने क्या. बि. पेस गरेछन् ।
कामकाजमा बाधा पर्ने भनेर
देवराज इन्द्रले
असार २९ एक दिन मात्र क्या. बि. स्वीकृत गरेछन् ।
खिन्न मन लिएर
बाक्सामा कोचेको बिर्खे टोपी र रामायण झिकेर
सात्तु र सामलको पोको च्यापेर
भानु रम्घा झरेछन् ।
भोकले एक मुठी सात्तु मुखमा हाल्दा
अड्किएर घाँटीमा
पानीको प्यासले सीधै घाँसीकुवा हानिन्छन्
आश्चर्य
आपूmले खनाएको कुवा नभेटेर
एक अँजुली पानी पिई
लाग्दछन् जन्मघरतिर
अफसोच
घर त्यहाँ थिएन
भग्नावशेष
जग हेर्न सकेनन् ।
तर्पण दिने पनातिलाई सम्झिएर
लागे पनाति निवासतिर
थाहा पाए
पनाति पुरस्कार थाप्न गएको
मक्ख परे भानुभक्त
आफ्नु बिडो थामेकोमा
पनाति भेटने इच्छाले लागे भानु अलकापुरीतिर ।
गाडीमा थचारिँदै, अलकापुरी भित्रँदा
सात्तुको पोको हराएर मर्माहत भानुभक्त
रानीपोखरीको डिलमा थचक्क बस्दछन्
आफ्नै अगाडि आफ्नो अनुहारमिल्दो सालिक देखेर
गएर एक पटक नियाल्दछन् आफ्नै प्रतिछायालाई
हुबहु आफ्नै अनुहार देखेर
एकटकले हेरिरहन्छन् आँखा नझिम्काई
नाकको टुप्पामा भगेँराको बिष्टा देखेर
मन अमिलो पार्दै
प्रज्ञाप्रतिष्ठानतिर लाग्दछन्
देखेर आफ्नै सालिक, उभिएर टक्क
पानीमा रुझिरहेको आफ्नै सालिक हेरिरहन्छन् ।
आफ्नै जन्मदिन सम्झिएर
बिर्खे टोपीमा कौवाले बिस्टाएर गएपछि
दुई थोपा आँसु झारेर
निस्कन्छन् आफ्नो बिडो थाम्ने पनाति खोज्न
गल्लीगल्ली चहार्दै
पानीमा रुझ्दै
एकहोरो हिँडिरहँदा
साझा प्रकाशनको आफ्नै सालिकअगाडि उभिन पुग्छन्
निथ्रुक्क भिजेको आपूm र रामायण सुमसुम्याउँदै
कतियौँ जन्मदिन हो सम्झँदै जाँदा
समय निख्रिसकेको आभास हुन्छ
सालिकको गालामा टल्किएको सेतो नियाल्दा
उनको मोबाइल बज्छ
स्वर्गलोकबाट इन्द्रको नम्बर देखेर
हत्तपत्त उठाउछन्
खप्की खाएर इन्द्रको
३१ गते बित्दै छ, कहाँ हो तिमी
कि मतलब छैन आफ्नो कामका….
नर्कको सरुवाको डरले
हत्तपत्त बीचमै कुरा काटेर भन्छन् भानुभक्त
आएँ हजुर, आइपुग्दै छु
आफ्नो दस–पाँचको ड्युटी सम्झिएर
स्वर्गलोकको नियम–कानुनमा बाँधिन
हत्तारहत्तार देवलोक प्रस्थान गर्दै छन् ।
गोकर्णेश्वर ३, सुन्ताखान, काठमाडौँ



