
काभ्रे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औैं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल ले हालै साहित्यकार सूर्यप्रसाद लाकोजू र उहाँको श्रीमती सविता कुमारी लाकोजू श्रेष्ठ तथा साहित्यकार गंगा सुवेदी र उहाँको श्रीमान् दिनेश सुबेदीलाई नगद, सम्मान पत्र, दोसल्ला , फलफुल सहित सयपत्री राष्ट्रिय सम्मान २०७८ले सम्मानित गरेको छ ।
उहाँहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. जगतप्रसाद उपाध्यायले सम्मानित गर्नु हुदै सयपत्री प्रतिष्ठानले उपयुत्त पात्रहरू छनौट गरेर सम्मान गरेको बताउनु भयो । उहाँले स्रष्टाहरुको साहित्यिक योगदानमा जीवन साथीको उल्लेखनीय योगदान रहने हुनाले दम्पत्तीसहित सम्मानित गर्ने परम्परा सहि भएको र आफुलाई निकै प्रभावित भएको बताउनु भयो । र यो ऐतिहासिक कार्य रहेको चर्चा गर्नु गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले आफूभित्र रहेको नकरात्मक उर्जालाई हटाई चेतनाको दियो मनमा वालेर समाजको लागि केहि गर्नु पर्ने भनाइ राख्दै प्रज्ञा प्रतिष्ठानले निकट भविष्यमानै महाकवि देवकोटाको संग्रालय संचालनमा ल्याउने बताउनु भएको थियो ।

सयपत्री प्रतिष्ठाका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक साहित्यको मूल बाटोमा लागेर जनताको सेवा गर्नुपर्ने बिचार पोख्नुभयो । त्यस्तै कार्यक्रममा सम्मानित साहित्यकार गंगा सुवेदीले सयपत्री राष्ट्रिय सम्मान पाँउदा आफूलाई ४० वर्ष अघि आफ्नो विवाहको स्मरण आएको बताउनु भएको थियो भने अर्का सम्मानित साहित्यकार सूर्यप्रसाद लाकोजूले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सामाजिक रूपमा आफ्नो अक्षरकर्म अनुमोदन भएको बिचार राख्नुभयो । कार्यक्रममा सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन“ले प्रकाश पार्नु भएको थियो । उहाँले सम्मानित प्रतिभाहरूको साहित्यिक योगदान उच्च रहेको र उपयुक्त पात्रहरूको चयन भएको बताउनु भयो । सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्रीको गतिविधि र सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिनु भएको थियो ।
सो कार्यक्रममा नेपाल साहित्यिक पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेल , उपमहा सचिव चेतनाथ धमला, सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत ले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।



