जुत्ता र जिन्दगी

- अंकर अन्जान सहयात्री, जानकी गाउँपालिका-८ ,जबलपुर ,कैलाली


“जुत्ता र जिन्दगी”

यो जिन्दगी जुत्ता जस्तै त भैदियो
मूल्यहिन कुनै चिज जस्तो
छिनमै लगाउने,
छिनमै निकाल्ने,
कहिले छोराको,
कहिले गोडाको

अनगिन्ती यि खुट्टाहरुले जुत्ता खोजिरहेका छन,
सडकका पेटीहरुमा,
फोहोरका डङ्गुरहरुमा,
र पनि थाकेका छैनन् खुट्टा,

ढुङ्गा जस्तै कठोर भैदिएका छन,
कहिल्यै फुटाउन नसकिने,
कहिल्यै उठाउन नसकिने,
स्वाङ्ग पारेर सुतेको त्यो मान्छे जस्तै,

म बल-जफती उठाउने प्रयासमा हुन्छु,
र पनि अडिक भएर बसि दिन्छन,आफ्नै अडानमा,
बकुल्लाले आफ्ना आहारामा ध्यान मग्न भए जस्तै,
कस्तुरीले कान ठाडो पारेर मृत्युलाई हेरे जस्तै,
मनमा शंका उपशंका उब्जिरहन्छन्,
यि खुट्टाले जुत्ता घरिघरी हेरिरहन्छन्,
एक तमासले तल्लिन भएर,
कहिले रातो, कहिले सेतो,
कहिले निलो, कहिले कालो,

वर्तमानमा आएर यि जुत्ता खैरो भैदिएका छन,
रङ्ग खुइलिएको छ,
उहिले चिटिक्क पर्ने यि खुट्टा,
अहिले बैसाखीको साहारा लिंदैछन,
र पनि कत्ति दुखेको छैन यि मन,
पहिले जस्तै चन्चल भैदिएका छन,
पहिले जस्तै निश्चल भैदिएका छन,

म हिड्दै छुं जिन्दगीका सफरहरु,
कट्दैछुं उकाला ओराला बाटाहरु,
हिड्दा हिंड्दै उध्रिएको छ जिन्दगी,
चिथ्रा-चिथ्रा पारेर मिल्क्याइएका छन सपनाहरु,
म भने टिप्ने प्रयासमा हुन्छु, ति आँखाका मोतीहरु,
तर बादल जस्तै बिलाई दिन्छन,
बरफ जस्तो पग्लि दिन्छन,

अब त ति जुत्ताहरु पुराना भैसकेका छन,
जुत्ता संगै खुट्टा पनि पुराना भैसकेका छन,
म सोच्दैछुं, भेटिदैनन् ति जुत्ताहरु,
जहाँ पहिले खुट्टा तमाम थिए,
अहिले त त्यसमा धमिरा पनि लागि सकेका होलान,
आफ्ना सुन्दर सपनाहरु सजाइ सकेका होलान,
म भने यो थोत्रो खुट्टा लिएर, भौतारींदै छु,
त्यही जुत्ताको आसमा,

अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली

यसमा तपाइको मत