
नेपालमा कृयाशील आफूलाई कम्युनिस्ट भन्न रुचाउने दलहरुको अग्निपरिक्षा फेरि सुरु भएको छ । संसदमा नरहेका कम्युनिस्ट पार्टीहरु त यसैपनि एमसीसीको विरुद्धको जीवनमरणको आन्दोलनमा छन् नै ।
उनीहरुप्रति जनताको सहानुभूती र समर्थन छ । संख्यामा साना र थोरै भएपनि उनीहरु देशकै लागि संकट आइपर्दा सधै संकटका विरुद्ध अग्रमोर्चामा लडिरहेकै छन् । यसपटकको अमरिकी एमसीसी विरुद्धको आन्दोलनमा त सरकारमा सहभागी दलहरुले पनि एमसीसी विरुद्धको आन्दोलनमा सहभागीता जनाएका छन् ।
गोली खाएका छन् । लाठी खाएका छन् । एमसीसी विरुद्धको लडाइँमा सदनमा भएका, नभएका सबै दलहरु लडाइँमै छन् । दुनियाँलाई घामझैं छर्लङ्गै छ कि, कांग्रेसले एमसीसी मार्फत् देशघात गरिरहेको छ । इतिहास हेर्दा कांग्रेस भनेकै देशघात हो जस्तो भएको छ । हिजैदेखि कांग्रेस देशघातीको कालोटिका लगाएरै आएको हो ।
कांग्रेस नामको जन्तु नेपालका लागि नौलो पनि होइन । कोसी बेचिखाएको उसैले हो । गण्डकी बेचेर सत्ता जोगाएको उसैले हो । महाकाली र टनकपुर भारतीयहरुको पाउमा चढाएको उसैले हो । प्रजातन्त्रको नाममा पश्चिमा उदारवाद भित्र्याएर देशका उद्योगहरु सिध्याउने उही हो । सारा युवाहरु खाडीमा बेचेर आएको रेमिट्यान्समा भ्रष्टाचार गर्ने पनि कांग्रेस नै हो ।
भारतीयले सीमा मिच्दा गन्हाउने सास फाल्न नसक्ने तर चीनले सीमा मिच्यो भन्दै पाजी कुरा गरेर भत्ता पचाउने पनि उही हो । न्यायपूणर् आन्दोलन (जनयुद्ध) दबाउन न्वारनदेखिको बल लगाउने पनि उही हो । व्यक्तिगतरुपमा सो पार्टीमा रहेकाहरुलाई केही भन्नु छैन तर संस्थागतरुपमा त्यो पार्टीले बेलाबेला जे निणर्य गर्छ त्यसले दूरगामी महत्व राख्दछ ।
त्यसकारण यसपाली पनि कांग्रेसकै बुई चढेर अमेरिकी साम्राज्यवाद नेपालमा आएर बुर्कुसी मार्ने दाउमा छ । कांग्रेसलाई यसले घोडा बनाउँदै छ । साम्राज्यवादले आफ्नो घोडालाई टन्न खान दिनेछ, मज्जासित दौडाउनेछ र दौड्न नसके कोर्राले सप्काउने छ । हो, अहिले कांग्रेसलाई उसले कोर्राले सप्काइरहेको छ । किन कि, कांग्रेसले चारो खाइसकेको छ र अझैं खानेवाला छ ।
यी त भए कांग्रेस कुरा, अब लागौं कम्युनिस्टका कुरातिर । माथी भनिएका कुराको ठिक विपरितका कुरा कम्युनिस्टका कुरा हुन्छन् । कम्युनिस्टहरु देशभक्त हुन्छन् । जनप्रेमी हुन्छन् । स्वाभिमानी हुन्छन् । विदेशीको चारो खाएर होइन, आफै आत्मनिर्भर बन्नमा ध्यान दिन्छन् ।
देशमा विदेशीको हस्तक्षेप हुँदा संघर्ष गर्छन् । यी र यस्ता कुरा गर्दा मानिसहरुलाई लाग्छ कि यस्तो कुरा कम्युनिस्टले गर्दछ । यो कुरा साँचो हो । त्यसकारण नेपालमा पनि अहिले ठिक यस्तो समय आएको छ । एमसीसीकै कारण को देशभक्त हो र को देशघाती हो भनेर चिनिने मौका आएको छ यतिबेला । स्पष्ट छ कि, कांग्रेसले फेरि पनि देशघाती काम गर्दैछ ।
हो, यस्तो बेला कम्युनिस्टहरुले देश जोगाउनु पर्दछ । विदेशी हस्तक्षेप रोक्नका लागि कोकोसित मोर्चा बनाएर लड्न पर्ने हो त्यो सबै गर्नुपर्दछ । साँच्चै यतिबेला सदनमा रहेका, नरहेका सबैले एउटै मोर्चा बनाएर विदेशी हस्तक्षेपका विरुद्ध लड्नै पर्दछ । यो कुनैपनि पार्टीप्रति लक्षित गरेर भनिएको होइन । देशको अवस्थालाई यथार्थमा राख्न मात्रै खोजेको हो ।
नेपालका लागि आज एमसीसी जीवनमरणको विषय बनेको छ । यो पास भयो भने देश विदेशीको पञ्जामा जानेछ, पास भएन भने देश बच्नेछ । स्वतन्त्र र स्वाभिमानी जीवन जिउने हो भने एमसीसी खारेज गर, होइन कसैको दास भएर मरेतूल्य भएर रहने हो भने देशै विदेशीलाई बुझाइदेऊ भन्ने अवस्था आएको छ ।
जसरी हिजो महाकाली जस्ता सन्धि हुँदा पनि यस्तै अवस्था आएको थियो । आखिर एकदिन मरिजाने ज्यानको खोस्टो त हो यो । आफ्नो स्वाभिमान, इज्जत र मानमर्यादा मर्छ भने बाँचेको पनि के सार छ र ? त्यसकारण आज जनताले हिजो सामन्तवाद फाल्नका लागि त्यत्रा जनता मरे भने आज विदेशी डाँका र लुटेराहरुबाट देश र जनता जोगाउन नेता नै मर्नु परे पनि मर । तिमी मरेर देश जोगिन्छ भने तिमी मर ।
तर स्वाभिमान गुम्न नदेऊ । देश जोगाउने जिम्मा के कम्युनिस्टको मात्रै हो त ? के हिजो फिरङ्गी अंग्रेजका विरुद्ध लडेर नेपाल जोगानेहरु कम्युनिस्ट नै थिए त ? होइन । अमरसिंह, बलभद्र र भक्ति थापाहरु कम्युनिस्ट थिएनन् । बरु देशलाई माया गर्ने देशभक्त भने पक्कै थिए । त्यसकारण देश जोगाउने ठेक्का कम्युनिस्टको मात्रै होइन । सबै देशभक्तहरुको हो ।
देशभक्त बनेर देश जोगाउनका लागि कम्युनिस्ट बन्नै पर्छ भन्ने छैन । राजनीति गर्न जनता चाहिन्छ । जनता रहन देश चाहिन्छ । तर देशै अर्कैले लग्यो भने केमा बसेर राजनीति गर्ने हो र ? त्यसकारण हो यो कोणबाट अबको समयलाई बुझ्न र त्यसै अनुसार जागा रहन जरुरी परिसकेको छ । सबै देशभक्त नेपालीलाई चेतना जागोस् !



