शङ्खरापुर भिंद्यःको आश्चर्यजनक कथा र स्थानान्तरण


शंखरापुर (काठमाडौँ)÷ नेवाः समुदायले जहाँ–जहाँ पुगेर बस्ती बसाएका छन्, त्यहाँ–त्यहाँ व्यापार व्यवसाय, संस्कृति–सम्पदाका साथै गणेद्यः र भिंद्यः स्थापना गरेकै छन् । सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म र उत्तरमा हिमाली जिल्लादेखि तराईका मैदानसम्म जहाँ नेवाः बस्ती पाइन्छन्, त्यहाँ गणेद्यः र भिंद्यः पनि अनिवार्य रुपमै गरिएको पाइन्छ । गणेद्यः “शुभ” का प्रतीक हुन् भने भिंद्यः “लाभ” का प्रतीक मानिन्छन् । त्यसैले व्यापार–व्यवसाय गर्दै गाउँ–गाउँ छिरेर बस्ती बसाएका नेवाः समुदायले आफ्ना घर–आँगन वरिपरी गणेद्यः र भिंद्यःका मूर्ति स्थापना गरेर मन्दिरै बनाएका हज्जारौँको सङ्ख्यामा देख्न पाइन्छन् । काठमाडौँ उपत्यकाको प्राचीन शहर प्रमाणित हालको शंखरापुर नगरपालिकास्थित “सक्व” अर्थात् साँखुस्थित प्रसिद्ध तीर्थस्थलका रुपमा रहेको शालिनदी किनारमा त्यहाँका व्यापारिक घरानाका “पिखा” परम्परागत पहिचान सहितको श्रेष्ठ परिवारले स्थापना गरेको भिंद्यःलाई प्रत्येक वर्ष माघ महिनामा “भिंद्यः द्वादशी” का दिन जात्रा गर्दै साँखु नगर परिक्रमा गरिन्छ । त्यस क्रममा सामुहिक भोजको पनि आयोजना गरिन्छ । त्यसका लागि आफ्ना पुर्खाले आयस्ताका रुपमा खेतको व्यवस्था गरेको, तर त्यो अहिले सो अनुरुप नरहेको उत्तम लाल पिखा श्रेष्ठ बताउनु हुन्छ । ७७ वर्षीय श्रेष्ठका अनुसार आफ्ना सात पुस्ता अघिका पूर्वज भाजुदत्त साहुले भिंद्यः स्थापना गर्दाका सुन्ने सुनाइने एउटा किंबदन्ती कथा अहिले पनि प्रचलित छ ।

कथा अनुसार भारतबाट कपास बोकाएर ल्याएर साँखुमा व्यापार गर्ने क्रममा एकपटक बोराबाट कपास जति निकाल्दा पनि सिद्धिएनछ । यस्तो आश्चर्यजनक कसरी भयो भनेर भाजुदत्तले देवीदेवता भाकल गर्दै क्षमा पूजा गरेछन् । पूजापछि कपासको बोराभित्रबाट एउटा सेतो ढुंगा निस्किएछ । जसलाई भित्री केन्द्रीय भागमा राखेर अर्कै ढुंगाको भिंद्यः मूर्ति बनाएर शाली नदी किनारमा सरस्वती पाखा भन्ने स्थानमा प्रतिस्थापन गरियो । त्यसरी प्रतिस्थापन गरिएको “सक्व भिंद्यः” का संस्थापक भाजुदत्तको चार पुस्तापछि शाली नदीमा बाढी आएर नदीले बाटो नै फेरेपछि बाढी र पहिरोले भिंद्यःलाई पनि बगाउने सम्भावना बढेछ । बाढी र पहिरोबाट बचाउन भिंद्यःलाई स्थानान्तरण गरेर आजभन्दा झण्डै पचास वर्षअघि तात्कालिन अवस्थामा भक्तपुर जिल्लामा रहेको शाली नदीवारी माथिल्लो भागमा ल्याएर पुनस्र्थापित गरिएको आफ्नो सम्झनामा रहेको स्थानीय ज्येष्ठ नागरिक हरि श्रेष्ठले बताउनु भयो ।

त्यसरी पुनस्र्थापित गर्दा सक्व भिंद्यःका संस्थापक भाजु दत्तका नाति हरि नारायणका पनि छोरा मानकाजीले सम्पूर्ण खर्च व्यहोरोका थिए भन्ने पनि आफ्नो जानकारीमा रहेको उनका नाति उत्तम लाल पिखा श्रेष्ठ बताउनु हुन्छ । हाल तिनै पिखा श्रेष्ठ परिवारका सन्ततिहरु अमेरिका, हल्याण्ड, कोरिया लगायतका विदेशमा सफल व्यवसाय सहित बसोबास गरिरहेको र आफ्ना केही दाजुभाई मात्रै नेपालमा रहेको व्यवसायी एवम् समाजसेवी उत्तम लाल पिखा श्रेष्ठ बताउनु हुन्छ । हाल सक्व भिंद्यः साँखुको शाली नदी किनार स्वस्थानी ब्रत समापनका क्रममा गरिने अश्वमेघ यज्ञस्थल छेउमा अवस्थित छ । जहाँ प्रत्येक वर्ष माघ महिनाभरी माधव नारायणको ब्रतका साथै पूजा–आराधना हुने गर्दछ ।

यसमा तपाइको मत