मानव समाज आफ्नो वरपरको वातावरण,चालचलन , धर्म ,संस्कृति, भौगोलिक परिस्थिति आदि अनुसार परापुर्व कालदेखि आफ्नो तथा अन्य जनावरहरुको उपचार गर्दै आई रहेका छन्। यस संसारमा जति पनि रोगहरुको उपचार पध्दति छन् ती सबै एकै चोटी बिकाश र बिस्तार भएको होइन। उपचार गर्ने क्रममा आफ्ना वरपर भएका माटो ,रंग ,पानी ,आगो ,घाम ,ध्वनि ,हावा ,फलाम आदि बस्तुहरुलाई प्रयोग गर्दै उपचारको पढ़दतिमा एक पछि अर्को ईट्टा थप्दै आजको युग सम्म आईपुगेका हुन्। प्रत्यक प्राकृति प्रदत्त बस्तुहरुमा आ आफनै खाले केहि न केहि गुण रहेका हुन्छन। तिनै गुणलाई आ आफ्नो आस्था बिश्वास र अनुभवको आधारमा उपचार बिधी प्रयोग गर्दै आईरहेका छन। वास्तवमा लोकको निम्ति लोकले नै प्रयोग गर्दै आइरहेको लोक बिश्वास र लोक पध्दति भएको उपचारलाई लोकोपचार भनिन्छ।
लोक उपचार एक धर्म र अर्को धर्म बीच फरक हुन सक्छ। एक समुदाय र अर्को समुदाय बीच फरक हुन सक्छ। यसरी सामाजिक संरचना, जाति ,भाषा ,धर्म , भौगोलिकता आदिमा लोकपचार फरक वा समानता हुन सक्छ। लोकोपचार ऋग्बेद कालिन बिभिन्न शुक्तहरु तन्त्र मन्त्रको रुपमा रहेता पनि नेपालमा भने कुन समय देखि शुरु भयो भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन। नेवार समुदायको लोकोउपचारको सन्दर्भमा भन्ने हो भने हरमेखला , बैध्यकम् पशु चिकित्सा तथा नेपाल सम्बत ५४१ को नेपाल भाषा चिकित्सा जस्ता हस्तलिखित पुस्तकहरु देखा परेका छन्। नेपालमा आयुर्वेदिक उपचार पध्दति लिच्छाबिकालिन समय देखि नै ब्यबस्थित थियो भन्ने कुरा राजा नरेन्द्रदेवको पालामा देउपाटन रहेको रोगीहरुको लागि कल्याण वा उपचारको लागि आरोग्य भवन निर्माण गरेको अभिलेखबाट स्पष्ट हुन्छ।
नेवार समुदायमा चलिआएको परम्परागत लोकोपचार पध्दतिलाई बिचार गरि हेर्ने हो भने यस पढ़दतिलाई मुख्यतया छ प्रकारमा विभाजन गर्न सकिन्छ।
१)आफ्ना वरपर पाईने भौतिक सामान प्रयोग गरि गरिने उपचार पध्दति ;- जस्तै खरानी दल्ने , बिभिन्न लेप लगाउने , टाँस्ने आदि।
२)झारफुक गर्ने उपचार पध्दति :-जस्तै तन्त्र मन्त्र प्रयोग गर्ने , बिभिन्न देवी देवताको प्रार्थना गर्ने आदि।
३)भुतप्रेत ,दंकानी संकानी ,बोक्सी ,मसान आदि मानावेत्तर प्राणीलाई बिश्वास गरि गरिने उपचार पध्दति :- झाक्री , दोबाटोमा पन्छाउने आदि।
४)देबी देउतालाई भाकल गरि धार्मिक पुजाआजा गरि गरिने उपचार पध्दति :- भाकाल गरि बलि दिने ,नेवारहरुले किसली चढाउने आदि /
५) ज्योतिष शास्त्रको बिश्वास गरि ग्रह ,नक्षत्र ,दसाफल बिश्वास गरि उपचार गर्ने पध्दति :- राहु ,केतु,शनि आदि देखाउने , बिभिन्न बस्तु जस्तै औंठी ,धागो,टिका धारण गर्ने आदि
६)अन्धविश्वास परि गरिने उपचार पध्दति :- छोरा छोरी पाउन, मोहनी लगाउन आदि।
मानव शरीरमा हुने विभिन्न रोग हरु मध्य खटिरा पनि एक हो। खटिरा शरीरका विभिन्न भाग मा आउँछ। त्यसै गरि मुख भित्र जिब्रोमा समेत आउनसक्छ। नेवारी समुदायले खटिरा उपचारको लागि सीताला माजुअलाई पुजा गर्ने चलन छ। राजा रण बहादुर शाह को पालामा ठेउला माहामारीको रुपमा काठमान्डौ उपत्यकामा देखा परेको थियो। उक्त ठेउला बात बच्न आफ्नो छोरा राजकुमारलाई जोगाउन उपत्यमा भएका ससाना बालबालिका हरुलाई निकाला गरेको कथन हरु रहेका छन। खातेराहरु कुनै साना उमेरमा मात्र आउँछ भने कुनै साना ठुला सबैलाई आउने हुन्छ। यस्तै मानव शरीरमा आउने खटिरा हरु मध्य जनै खटिरा पनि एक हो।
जनै खटिरा : जनै खतिरा जुन सुकै उमेरका लागि आउन सक्छ। जनै खटिरा शरीरमा जहाँ पनि आउन सक्छ। बिशेष गरि शरीरमा जनै जस्तो आउने भएकोले जनै खटिरा भनिएको हो। जनै खटिराको उपचार परम्परागत मान्यता र संस्कार अनुसार उपचार गर्दै आएको पनि छ।जनै खातिराको परम्परागत उपचारमा नेपाली कागजमा जोडी सिंह लेखि टाँस्ने पनि गरिन्छ। जनै खटिरा आउने व्यक्तिले किसली (माटाको पालामा चामल,सिंगो सुपारी र चानचुन पैसा ) नारायाण मन्दिरमा चढाउने र चित्रकारले सिंहको एक जोडी चित्रलेखी खटिरा आएको दुई स्थानमा सिंहको मुख फर्काएर तासिंछ। नभन्दै उक्त खटिरा आएको मानिसमा बिस्तारै खातिराहरु हराउंदै जान्छ र निको हुन्छ पनि। वास्तबमा कसरी सिंह टाँस्दैमा खतिराहरु बिलिन भए। यसमा बैज्ञानिक कारण लुकेको हुन्छ। सिंह लेख्ने मसीको करामतले गर्दा निको भएको हो। सिंह सेतो ,रातो, र कालो रंगले लेखिन्छ। सेतो रंगमा जिंक अक्साइड ,रातोमा सल्फर मर्करी र कालोमा कार्बन तत्वहरु रहेको हुन्छ। यिनै तत्वहरु सरेश भने संग टाँसिन गई रासायनिक प्रतिक्रिया भई औषधिको रुपमा काम गर्दछ। यसरी हाम्रा समाजमा चलि आएका लोक उपचारमा खनिज पदार्थ र समाजको लोकको बिश्वास दुवैले एकै चोटी प्रयोग भई प्रभावकारी ढंगले उपचार हुन्छ। जे जोस हाम्रा लोक उपचारहरुलाई मिहिन ढंगले अनुसन्धान गरि लोक कल्याण हुने यस्ता उपचार पध्दतिलाई संरक्षण गरि प्रचार प्रसारको पनि जरुरी देखिन्छ।



