
समयको दूर यात्राबाट
यहाँ आइपुगेको छु
यात्राका पखेटा साँध लगाएर
झन् झन् धारिलो बनाइरहेछु
यात्रामा केही भेटिए समथर बाटाहरू
र , धेरै भेटिए थुम्का र शिखरहरू
समयको प्रत्येक स्पर्शमा
आफ्नो आकृति कोर्न खोजिरहेछु
जो जो सँग भेट भयो बाटामा
तिनीहरू सबैले मलाई
केही न केही सिकाए
अझै सिक्ने आशामा बेजोड़ बतास दगुरिरहेछु
धेरै पहाड नाघेर यो चुचुरोमा आइपुगेपछि
देखिएका छन् अरू धेरै चुचुराहरू
ती चुचुराहरू चढने झन् झन् बढेकोछ जाँगर
कति धेरै भेटिए
गुमेपनि केही
अझ धेरै पाउन बाँकीनै छ
थकान मेरो कुनैपनि पाइलाको जुत्ता बन्न सक्दैन
निराशा मेरा कुनै हेराइको पर्खाल बन्न सक्दैन
जता हेर्छु उज्यालो फैलाएर हेर्छु
जता हिँडछु नयाँ बाटो र आशाको बीउ रोप्छु
साँच्चै जाँगर जत्तिको प्रेम केही रहेनछ जीवनमा
हत्केलामा सधैँ नयाँ नयाँ समय झुल्किरहेछ
म यसलाई झन् झन् ताजा र अझ स्वादिलो बनाइरहेछु
धेरै बुझेँ भन्ने थियो
बुझ्न त झन् धेरै बाँकि छ भन्ने
यो पाइलामा बुझेकोछु
त्यसैले गति द्रुत बनाइरहेछु
सबैभन्दा धेरै आफैलाई माया गरेँ
त्यो भन्दा बढ़ी माया छ तिम्रो र यो सँसारको
तिमीसँगै
अझैधेरै चुचुरा चढने
बिहानी घाम आइपुगेकोछ भर्खरै
म प्रेमको नदीबाट ब्युँझिएँ
प्रेमको कन्चन नदीबाट उकालो चढिरहेछु
आहा कति सुन्दर छ हगि यो सँसार
र तिम्रो अमिट र ईन्द्रेनी प्रेम



