पाँच मुक्तकहरु

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,बनेपा ४ ,नाला


कल्पना गर्थे मुटुभन्दा संसार कहिल्यै ठूलो हुन्न

प्रेम भन्दा उपहारको भंसार कहिल्यै ठूलो हुन्न ।

सधै सधै याद राख, यसो पनि भनेको थियो भनेर

यो माया मुना मदन अनुसार कहिल्यै ठूलो हुन्न

 

मूर्ति सबै विदेशिय मन्दिरहरु , खाली आज

कामै नलाग्ने नेतालाई वाह वाहाको, ताली आज

हुँदा खानेको देशमा हुने खानेको राज भयो

गरिव जनताको भागमा खाली, थाली आज

 

मायाको अखण्ड दीप बाली खोज्नेछु अबदेखि

अन्धकारमा उज्यालो आशा बुझ्नेछु अबदेखि

कति खोज्दै, रोज्दै र बुझ्दै गर्ने हो यो दुनियाँमा

मन मिल्ने र भावना बुझ्ने रोज्नेछु अबदेखि

 

सबै याममा सुवासित फूलहरु फुल्दैन भै’गो

आफ्नाले दुःखमा गरेको यादहरु भुल्दैन भै’गो

महिनामा औंसी र पूर्णिमा पालै पालो आउँछ नी

आखिरी बैगुणी रहेछ चिनी जस्तै धुल्दैन भै’गो

 

अरु बेलाभन्दा नि आज भिन्दै देख्दैछ्‌यौ, शनिबार हो र !

तिम्रो कोमल हातले म्यासेज लेख्दैछ्‌यौ,शनिबार हो र !

समय छैन भन्दै विभिन्न बहाना बनाउँदै गर्नेले

नरम मिठो मह मिसाएर बोल्दैछ्‌यौ, शनिबार हो र !

यसमा तपाइको मत