
न्यानो कम्मलमा मिठो निन्द्रा सुत्दा, आनन्दित तिमी
हावाहुरी अनि चट्याङ् सँग लडिरहेको हुन्छु म।।
दिनको मझेलीमा, प्लेटमा मःमः खेलाई रहँदा तिमी
दुई मुठ्ठी गाँस, तिहुनको लागि तड्पिरहेको हुन्छु म।।
झमझम परिरहेको पानीमा वर्षा नृत्य गरिरहँदा तिमी
मेरो ओछ्यान भिजाउने, जस्ताको प्वाल टालिरहेको हुन्छु म।।
फेरिफेरि कपडा अनि अत्तर छर्केर सेल्फी खिचिरहँदा तिमी
पसिनाले निथ्रुक्क भिजेको, फाटेको वस्त्र सिलाउँदै हुन्छु म।।
भोली कसरी समय बिताउने सोचमा योजना बनाउँदा तिमी
हात जोडी छाक टार्ने भोलीको कहानी कल्पिरहेको हुन्छु म।।



