
नेपाल इतिहास संघ तथा भूगाेल एवं इतिहास शिक्षण विभाग पद्म कन्या क्याम्पसकाे संयुक्त आयाेजनामा ऐतिहासिक स्थलहरूकाे अवलाेकन भ्रमण र एकदिवसीय राष्ट्रिय गाेष्ठीमा प्राज्ञिक उन्नयन, चिन्तन,मनन् र बहुआयामिक गुणवत्ताका साथ सभ्य, भव्य र दिव्यरूपमा सुसम्पन्न भयाे । यस कार्यक्रमले नेपालकाे इतिहास,संस्कृति, पर्यटन, पूरातत्वलगायतका समसामयिक बिषयमा अभिमुखीकरण गर्नुका साथै सचेतना अभिबृद्वि गरेकाे सन्दर्भ सबैजसाे सहभागीहरूबाट अभिव्यक्त भयाे । सामाजिक संजालमा पाेष्ट गरिएका अभिमतहरूले पनि उत्कृष्टताकाे उदाहरण सार्बजनिकीकरण भएकाे देखिन्छ । मिडिया हाउसले पनि सकारात्मक दृष्टान्त दिएर भावना प्रस्तुतीकरण भएकै छ । स्वनामधन्य प्रखरवक्ता विद्वान् प्रा.डा. सुरेन्द्र के सी सरले माैजुदा राजनैतिक परिवेशकाे बहुकाेणीय दृष्टि प्रक्षेपण गर्दै परिस्थितिकाे चिरफार गर्नुभयाे जुन अत्यन्त राेचक, घाेचक र बस्तुपरक समालाेचनामा आधारित थियाे । वहाँकाे कार्यपत्रमाथि विद्वान् प्रा.डा. गाेविन्दमान सिंह कार्कीले सशक्त समीक्षा गर्दै थप उर्जा र पाेषण प्रदान गर्नुभएकाे थियाे । त्यसैगरि डा. बमबहादुर अधिकारीले दहचाेक,इन्द्रदह,कालुपाण्डे स्तम्भकाे ऐतिहासिकता र पर्यटकीय महत्वमाथि प्रकाश पार्नु भएकाे थियाे भने पूरातत्वविद् प्रकाश दर्नालले बिशेषज्ञताकाे आधारमा समालाेचना गर्नुभएकाे थियाे । उक्त राष्ट्रिय गाेष्ठीमा सहभागी लेखक, अन्वेषक विद्वान् प्राध्यापक सर, मेडमहरूबाट सक्रियतापूर्वक छलफलमा भाग लिएर प्राज्ञिक उन्नयनमा टेवा पुर्याउनु भएकाे थियाे ।
उक्त कार्यक्रमलाई पुस्तक लाेकार्पण गर्दै प्रमुख अतिथि प्रा.डा. श्रीरामप्रसाद उपाध्यायज्युले समाराेहकाे शुभमुहुर्त आरम्भ गर्नु भएकाे थियाे । डा.बमबहादुर अधिकारीद्वारा लिखित पुस्तक र डा. जगतप्रसाद पराजुलीद्वारा लिखित पुस्तकहरू त्यहाँ बिमाेचित भै सार्बजनिकीकरण गरिएका थिए । डा. पराजुलीकाे पुस्तक ” ऐतिहासिक परिदृश्यमा बीरगञ्ज उद्भवदेखि बैभवसम्म” नामक पुस्तकमा लेखकले आफ्नाे जीवनलाई सार्थक बनाउन ज्ञानकाे मार्गमा सदैब क्रियाशील हुन उत्प्रेरित गर्नु हुने चारजना परमादरणिय गुरूज्युहरू प्रा.डा. तुलसीराम वैद्य, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.हेमन्त शमशेर जवरा र प्रा.डा. कृष्णबहादुर थापा सरहरूप्रति स-सम्मान समर्पण गरिएकाे छ । विद्यावारिधि गराउने प्रमुख निर्देशक, उपाधि प्रदान गर्ने बाह्य सुपरिवेक्षक, त्रिवि सेवामा प्रवेश गराउने गुरु र प्राज्ञिक संस्था श्रृजना गर्न गहन भूमिका खेल्ने गुरूहरूप्रति श्रद्धापूर्ण सम्मान गरिएकाे उक्त पुस्तकमा आदरणिय प्रा.डा.अनिलकुमार पाेखरेल( डीन, कला,कानून र शिक्षा संकाय, पूर्वाञ्चल विश्वविद्यालय,बिराटनगर ) तथा नेपाल इतिहास संघका बर्तमान अध्यक्ष श्रद्वेय प्रा.डा. ज्ञानेन्द्र पाैड्यालज्युहरूले भूमिकामा पुस्तककाे मूल्याङ्कन गरेर अाेजपूर्ण बनाउन मद्दत दिनुभएकाे छ । सबैमा सादर नमन् । सबैकाे जय हाेस ।



