जिन्दगी…

- रोमा छेत्री, बैरातीशाल जोत, न्यू रङ्गिया, सिलिगुड़ी (भारत)


हिजो मात्र एक झल्को जिन्दगीलाई देखेँ
ऊ बाटो मेरो छेकिरहेथ्यो ।

अकस्मात ऊ ओझेल भयो
खोजेँ उसलाई यताउति
ऊ त प…रको खण्डहरबाट चियाइरहेथ्यो ।

बाँच्न त बाँचिरहेकै छु
तरै पनि किन हो कुनि अझै बाँच्न सकेकी छैन
भलाकुसारी सोध्नेले सोध्ने गर्छन्
ए जिन्दगी ! भन न…..
किन सञ्चो पार्दैनौ मलाई ?
थाहा छैन किन यस्तो हुन पुग्यो
जिन्दगी मलाई म उसलाई सम्झाइरहेका हुन्छौ
फेरि सोधेँ,
ए जिन्दगी ! यति धेर पीड़ा
पल-पल दिइरहेछौ किन ?
अट्टहासभरिको मुस्कानमा एउटा जवाब उसको
लाटी ! तलाईँ त जिउनु पो सिकाइरहेछु।।
००००

यसमा तपाइको मत