रावण छाएको …

- डा. श्रीराम अधिकारी


रावण व्यक्ति होइन प्रवृत्ति बनेर
अकर्मण्यताको द्योतक बनिरहेछ
निर्घिणी विचारको प्रतीक बनेर
व्यभिचार दुष्कृत्य अधर्मलाई
आभूषण बनाई पराकाष्ठा नाघिरहेछ ।

काम वासना लोभ अहंकारको
प्रतिमूर्ति रावण असहिष्णु बनेर
उन्मत्त काल भैरव जसरी
त्राही त्राही पापको अग्निकुण्डमा
पूर्ण भष्म गराउन लागि परिरहेछ ।

राम र रावणको लुकामारी
हिजो राम थियो सबैको
आज रावण बनेर झांङ्गिँदै छ,
पुनरावृत्ति यो परिवर्तनको
हरण मरणमै नाङ्गिँदै छ ।

रावणको संस्कार कार्यशैली बनेर
आज पुनः मुख बाइसकेछ
म ऐया भन्छु, ऊ नुनचुक छर्दै
मेरो पीडामा क्रीडा खेल्दै आइरहेछ,
आज रावण जीवितै रहेको सिद्ध भएको छ ।

– गौरीघाट, काठमाडौं

यसमा तपाइको मत