आगोको होलीमार्फत आए अनजान यात्री


पछिल्लो समय नेपाली गजल साहित्यमा उल्लेखनीय प्रतिभाको रूपमा उपस्थित छ्न , अनजान यात्री । गजल अभ्यासको पाठशालामा उनी एक अब्बल विद्यार्थी हुन । उनको हालै बजारमा आएको गजल संग्रहको नाम हो , आगोको होली । आगोको होली गजल अनुरागीहरु माझ परिचित र उल्लेखनीय बनिरहेको छ ।
नेपाली साहित्यमा गजल लेख्न चाहनेहरु थुप्रै छन् । गजलकारभन्दा गजल सिद्धान्तका जानकारहरुको संख्या बढी भएका छन् भन्ने एकखालको टिप्पणी पनि सुनिन्छ । कुनै लोकप्रिय बिधामा वाद , विवाद , संवाद हुन्छ । यो डिजिटल युगमा छलफलहरु निरन्तर हुनु कुनै नौलो बिषय होइन । गजल साहित्यमा पनि अन्वेषण र छलफल भइरहेका छन् ।
अनजान यात्रीहरु पनि गजल लेखिरहेका छन । नवरसमध्य शृङ्गार रसमा गजलकार अनजान यात्रीको विशेष अनुराग छ भन्दा फरक नर्पला । उनको गजल भकारी आगोको होलीमा शृङ्गार रसका थुप्रै गजल छन् ।
तिम्रो रूपको सयौं कथा बन्छ
चन्द्रमा सिर्फ चन्द्रमा बन्छ

खाँचो टारेर जान्छ जानेले
टार्दिनेलाइ सम्झना बन्छ ।

( आगोको होलीको गजल संग्रह पेज २३)

के धोका खाएपछि गजल लेख्न सजिलो हुन्छ ? आरोपलाई आरोपमा सिमित राखौ । आगोको होलीभित्र हामी थुप्रै बिछोडका , घातका , प्रतिघातका , पिडाका सेरहरू पढन सक्छौ । यी सेरहरुले अनजान यात्रीको भावना पनि हुन , मनका तरङ्ग पनि हुन ।

नयनमा प्यारको बर्षात उस्तै छ
मुटुमा घातको सौगात उस्तै छ

तिमीले प्यास मेट्यौ र गयौं छोडी
अगुल्टो झोसिएको रात उस्तै छ

कुनै घाउ यति मीठा हुँदा रै´छन
जीवनमा हर्षको मौज्दात उस्तै छ

( आगोको होलीको गजल संग्रह पेज १९)

गजलकारको भावना अनौठो छ । उनी नयनमा प्यारको बर्षात देख्छन् । मुटुमा परेको घातलाई सौगातको रूपमा बुझ्छन् । अगुल्टो झोसिएको रातको सम्झनाले गजलकारलाई व्याकुल बनाएको छ । घाउहरुले मानिसलाई दुखाउन पर्ने हो । घाउहरुको बिम्बलाई अनजान यात्रीले अलग ढंगले प्रयोग गरेका छन् । मीठा घाउहरूले जीवनमा हर्षको मौज्दात दिएको कुरा गरेका छन् । गजललाई यसरी नौलो प्रयोग गरिएको छ । नौला , अनौठो र भव्य बिम्बहरु खोजी गर्नु अनजान यात्रीको विशेषता बन्दै गएको छन ।
गजल साहित्यमा अनजान यात्रीको उज्ज्वल भविष्य छ । आगोको होली पढनेहरुले भन्नेछ्न वाह ! अनजान यात्रीका गजलहरू ।
नेशनल इमेज न्यूज साप्ताहिकबाट

यसमा तपाइको मत