
काठमाडौं, सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजमा हरेक महिना आयोजना हुँदै आएको ‘ओपन माइक’ कार्यक्रम मंगलबार, २० जनवरी २०२६ का दिन साधनाघर थियटरमा भव्य रूपमा सम्पन्न भएको छ।
विद्यार्थीहरू स्वयं आयोजक रहने यस कार्यक्रमको मुख्य उद्देश्य उनीहरूभित्र रहेको सिर्जनात्मक क्षमता उजागर गर्ने र खुलेर अभिव्यक्ति दिन प्रेरित गर्नु हो। कलेजले आयोजना गरे पनि कार्यक्रम सबैका लागि खुला मञ्चका रूपमा सञ्चालन हुँदै आएको छ।

कार्यक्रममा कलेज बाहिरका स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कवि विश्व सिग्देलले प्रेम, वातावरण र समसामयिक राजनीतिलाई समेटिएका ‘चक्रपथ घुम्ती सेवा’, ‘उदेक’, ‘जोकर’ र ‘देश अनि जंगल गहिरहेको मान्छेलाई’ कविता वाचन गरे। कवि संजय सुमनले आफ्नै संगीत र स्वरमा ‘साइकलैमा’ गीत तथा ‘स्वतन्त्रता’ शीर्षकको कविता प्रस्तुत गरे। त्यस्तै कवि रमी प्रियाले ‘पिरलो’, ‘क्षमायाचना’ र ‘ऐना समय’ कविता सुनाइन् भने प्रकृति कार्कीले बुबाको विषयमा लेखिएको भावुक कविता पस्किन्। कौस्तुभ ओली र गणेशकुमार पौडेलले पनि आफ्ना सिर्जना सुनाएका थिए।
कार्यक्रममा कविता वाचनसँगै गीत गायन, स्ट्यान्डअप कमेडी र मोनोलग प्रस्तुति समेत समावेश गरिएको थियो। झलनाथ खत्री, आशिष घिमिरे, घनश्याम विश्वकर्मा, दिवसराज भट्टराई, सुदिप रसाइली, सौगात नेपाल र उमेश कुमार पौडेलले गीत प्रस्तुत गरे भने मिराक लिम्बु र विकाशले आफैंले लेखेर संगीत भरेका गीत सुनाए।

विद्यार्थीहरूले आफ्नो कला, क्षमता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूबाट प्रशंसा बटुले।
कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेलेको कलेजका प्राचार्य रामराजा दाहालले बताए। सहभागी विद्यार्थीहरूले पनि यस्ता कार्यक्रमले आफ्नो प्रतिभा उजागर गर्ने राम्रो अवसर मिलेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको सञ्चालन रमेश महतो र योगेश सिंहले गरेका थिए। ओस्कार इन्टरनेसनल कलेजले यस्ता सिर्जनात्मक र प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



