कलाकार संघमा सदस्य दावाको दावी , शुभेच्छुकहरुको साथ पाउनेमा ढुक्क


काठमाडौं । नायक तथा कलाकार दावा फिन्जो तामाङले यही चैत्र २८ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा केन्द्रीय कार्यसमिति सदस्यमा उम्मेदवारी दिएपछि उनको चर्चा बढेको छ । नयाँ पुराना सबै कलाकारहरूबाट उनलाई बधाई र शुभकामना आइरहेको छ । यसबाट कलाकार दावा उत्साहित छन् ।
समाजसेवा, कलासस्कृति तथा सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय दावा फिन्जो हिमाली जिल्ला रसुवाको ग्रामीण गोल्जुङ गाउँमा जन्मेका हुन् । सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्ने दावा तामाङ भाषामा बनेका चलचित्रहरू र मुलधारको नेपाली फिल्महरूमा अभिनय गरेर राष्ट्रिय स्तरमै चर्चित छन् ।
यस अगाडि उनले विभिन्न संघ संस्थामा रहेर काम गरेका छन् । चलचित्र संघ, बागमती प्रदेशका अध्यक्ष समेत रहेका दावा फिन्जो कला, संस्कृति र सामाजिक अभियन्ताका रूपमा समेत सुपरिचित छन् । उनी कलाकारलाई एकजुट बनाउँदै , कलाकारको हकहितका निम्ति अगाडि बढ्ने सोचमा छन् ।
राष्ट्रिय संगीतकर्मी सङ्घ बागमती प्रदेशका अध्यक्षमा रहेर दावाले यस संघमा खेलेको भुमिका विशेष रहेको उनलाई चिन्नेहरू बताउँछन् ।


हाल उनी राष्ट्रिय संगीतकर्मी सङ्घ रसुवाका प्रमुख सल्लाहकार हुन । उनी यही रसुवा जिल्लाको गोल्जुङ ४ मै हुर्केका हुन् ।
उनले तामाङ फिल्महरू गोदेवा , केवा , तिङ्ला जो , टुहुरो ला ह्लुई , ड्राइभर च्याङ्वामा जोडदार अभिनय गरेका छन् । यस्तै नेपाली फिल्महरू मङ्गोलियन हर्ट , राम साईली , अभियान , झिल्के , यो मन ,धर्ममा पनि उम्दा अभिनय गरेर एक प्रतिभाशाली कलाकारको परिचय बनाएका छन् । उनले म्युजिक भिडियोहरू जाउ घुम्न रसुवा , माभर लेकको जङ्गल , गोल्डेनको साडीमा , माईली , आँखैमा गाजल , जुगल हिमाल , मनको पिडा , सेम्चा वाती लगायतमा मोडेलको रूपमा अभिनय गरेर उत्कृष्ट मोडेलको परिचय पनि बनाएका छन् । उनी मुलतः नायक , मोडेल र निरन्तर सक्रिय कलाकार हुन् ।

यसमा तपाइको मत