कवि श्यामलसँग साहित्य, समय र समाजबारे गहन संवाद


वैशाख २६, शनिवार, काठमाडौं । वर्तमान कविता समूहद्वारा आयोजित “अग्रजसँग वर्तमान कविता समूह” कार्यक्रमको तेस्रो श्रृंखला वरिष्ठ कवि श्यामलसँग सम्पन्न भएको छ । साहित्य, समाज, भाषा, संस्कृति र समकालीन नेपाली कविताका विविध आयाममाथि केन्द्रित उक्त कार्यक्रम संवाद, स्मरण र कविता वाचनले सघन बनेको थियो ।
“तपाईँहरू मार्फत”, “लयब्रह्म” र “हतारमा यात्रा” कविता सङ्ग्रह तथा “रित्तो गाउँ” निबन्ध सङ्ग्रहमार्फत नेपाली साहित्यमा विशिष्ट उपस्थिति बनाएका कवि श्यामलले आफ्नो साहित्यिक यात्रा, लेखन अनुभव र समयसँगको सर्जनात्मक सम्बन्धबारे खुलेर विचार व्यक्त गरे । उनका नयाँ कविता तथा निबन्ध सङ्ग्रह प्रकाशोन्मुख रहेका छन् ।


पञ्चायतकालीन प्रतिकूल राजनीतिक परिवेशमा भूमिगत रहँदै “नक्षत्र शर्मा”, “हरिश दिक्पाल” लगायत विभिन्न छद्म नामबाट लेखनलाई निरन्तरता दिएको प्रसङ्ग स्मरण गर्दै उनले संघर्ष, जोखिम र सिर्जनात्मक प्रतिबद्धताले भरिएको आफ्नो यात्राका अनुभव सुनाए ।
संवादका क्रममा कवि श्यामलले कविता केवल भावनाको अभिव्यक्ति नभई समाजको चेतना, समयको अभिलेख र मानवीय संवेदनाको गहिरो दस्तावेज भएको बताए । साहित्यले मानिसलाई प्रश्न गर्न, सोच्न र सचेत बन्न प्रेरित गर्ने उल्लेख गर्दै उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण आज झन् चुनौतीपूर्ण बन्दै गएको धारणा राखे ।
कार्यक्रममा अध्ययन संस्कृतिमा आएको परिवर्तन, सामाजिक सञ्जालले सिर्जनामा पारेको प्रभाव, नयाँ पुस्ताको साहित्यप्रतिको दृष्टि तथा समकालीन नेपाली कविताको वर्तमान अवस्थाबारे पनि गहन छलफल भएको थियो ।
यस अवसरमा कवि श्यामलले रचनागर्भका प्रसङ्गसहित आफ्ना कविता “सिलिकन सुन्दरी र प्लाष्टिकका कवि”, “संकटकालमा सहवास”, “रातको हुम्ला”, “केही डरलाग्दा नामहरु”, “पावरहाउस” र “मैना सुनारकी आमा” वाचन गरे । साथै उनले कुर्दिस कविको अनूदित कविता “स्वतन्त्रता” पनि प्रस्तुत गरे ।


कवि श्यामलका समकालीन कवि स्नेह सायमिले विगतका साहित्यिक गतिविधि संघर्षपूर्ण भए पनि ती दिनहरू ऊर्जाशील र सिर्जनात्मक उत्साहले भरिएका रहेको स्मरण गरे । उनले कवि श्यामलसँगको सहयात्राका अनुभव साझा गर्दै आफ्ना कविता “चेतनाको पक्षघात” र “यात्रा” सुनाए ।
कार्यक्रममा सहभागी अन्य कविहरूले पनि आफ्ना रचना प्रस्तुत गरेका थिए । धीरकुमार श्रेष्ठले “मेरो प्रेम”, अभय श्रेष्ठले “जरुरी कुरा”, विश्व सिग्देलले “विवशता”, प्रकाश रम्घालीले “फारु गर्दै”, सुनिता खनालले “ओ नायक”, चाचुले “डिएसएलआर क्यामेरा”, चन्द्र बहादुर लामाले “प्रतिक्षालय” तथा रमी प्रियाले “दन्त्यकथा” शीर्षकका कविता वाचन गरेका थिए । त्यसैगरी शारदा अधिकारीले कवि श्यामलको कविता “शान्ति नेपाली” वाचन गरेकी थिइन् ।
वर्तमान कविता समूहका विश्व सिग्देलले अग्रज स्रष्टासँग नयाँ पुस्ताको साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम श्रृंखला सञ्चालन गरिएको बताए । यस्ता साहित्यिक संवादले युवा स्रष्टा र पाठकमाझ सकारात्मक वैचारिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

यसमा तपाइको मत