मोडलिङमा नाम बनाउदै सरु कार्की

- घनश्याम एन्टिना ।


काठमाडौं — सिन्धुपाल्चोकको सुनकोसी ३ मा जन्मिएकी सरु कार्की यतिबेला बैंकिङ क्षेत्र र मोडलिङ दुनियाँ दुबैमा आफ्नो अलग पहिचान बनाउँदै अघि बढिरहेकी एक उदीयमान प्रतिभा हुन्। हाल काठमाडौंको मैतीदेवीमा बसोबास गर्दै आएकी कार्की आफ्नो मेहनत, आत्मविश्वास र निरन्तर प्रयासकै कारण आजको स्थानसम्म आइपुगेकी बताउँछिन् ।
बुवा दान बहादुर कार्की र आमा सारदा कार्कीको माया, संस्कार र प्रेरणाले जीवनयात्रामा महत्वपूर्ण आधार प्रदान गरेको उनी सम्झिन्छिन्।
फनाइन्स विषयमा MBS पूरा गरेकी सरुले उच्च शिक्षा हासिल गर्दै करियर निर्माण र आफ्ना सपना साकार पार्ने लक्ष्यसहित काठमाडौंको यात्रा तय गरेकी थिइन्। अहिले उनी NMB एनएबी बैंकमा कार्यरत छिन् । व्यावसायिक रूपमा बैंकिङ क्षेत्रमा आबद्ध हुँदाहुँदै पनि उनले आफ्नो रुचि र क्षमता मोडलिङ क्षेत्रमा समेत विस्तार गरेकी छन्।
विद्यार्थी जीवनदेखि नै स्टेज कार्यक्रम, नाटक र नृत्यमा सक्रिय रहेकी सरु विस्तारै कलाकारितातर्फ आकर्षित भइन्। यही रुचिले उनलाई मोडलिङतर्फ डोर्‍यायो। तीजका गीतहरूमा नृत्य गर्दै सुरु भएको उनको कला यात्रा पछि निर्देशक राजु गिरिले निर्देशन गरेको ‘पिन्जडाको चरी’ टेलिफिल्ममार्फत फराकिलो बन्यो । यसले उनलाई अझ आत्मविश्वासी बनाउँदै अगाडि बढ्न ऊर्जा दिएको उनी बताउँछिन्।


हालसम्म उनले बैंकिङ करियरसँगै मोडलिङ क्षेत्रमा पनि उल्लेखनीय उपस्थिति जनाइसकेकी छन्। ‘हेर गाउँ छातीभरी’, ‘रातो रातो सिन्दूर’ लगायतका म्युजिक भिडियोमा अभिनय गर्नुका साथै ‘मायाको गाउँ’ र ‘टेम्के’ जस्ता चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेकी छन्। त्यस्तै, Mrs. Nepali International जस्ता सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउँदै उनले आफ्नो व्यक्तित्वलाई अझ निखार्ने अवसर प्राप्त गरेकी छन्। यी सबै अनुभवले उनको आत्मविश्वास र नेतृत्व क्षमता अझ सुदृढ बनेको छ।
आगामी योजनाबारे सरु भन्छिन्— बैंकिङ क्षेत्रमा सँगै मोडलिङ र सामाजिक सेवामा सक्रिय रहने उनको लक्ष्य छ ।
विशेषगरी महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकासका क्षेत्रमा प्रेरणादायी भूमिका खेल्ने उनको चाहना छ।
व्यस्त बैंकिङ पेशासँगै मोडलिङ र सामाजिक गतिविधिमा सक्रिय रहनु सजिलो नभए पनि समय व्यवस्थापन र लगनशीलताले सम्भव भएको सरुको अनुभव छ।
उनी भन्छिन्— “यदि चाहना र मेहनत छ भने, कुनै पनि क्षेत्रलाई सँगसँगै अघि बढाउन सकिन्छ।”
बैंकिङ र कला— दुई फरक क्षेत्रमा समान रूपमा सक्रिय रहँदै सरु कार्की आजको पुस्ताका लागि एउटा उदाहरण भएकी छन्।

यसमा तपाइको मत