
माछापोखरी, काठमाडौं — नेपालीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा कला र संगीत क्षेत्रमा छुट्टै रौनक छाउन थालेको छ । यसैक्रममा सुख शान्ति मिडियाको विशेष आयोजनामा राजधानीको प्रख्यात माछापोखरी प्यालेसमा तीज गीत प्रतियोगिता एवं छायांकन कार्यक्रम सम्पन्न भएको छ।
विभिन्न भाका गाइरहेका गायिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्ने र उनीहरूको सिर्जनात्मक क्षमतालाई सम्मान गर्ने मुख्य उद्देश्यका साथ आयोजित यस कार्यक्रममा एकसाथ एघार वटा तीज गीतहरूको भव्य छायांकन गरिएको हो । सबैभन्दा रमाइलो कुरा त के भने यी सबै गीतहरू दर्शकलाई नाच्न बाध्य पार्ने झ्याउरे लयमा तयार पारिएका छन् । यी एघार गीतका शब्दहरू दामोदर ढकाल दीपकले सिर्जना गरेका हुन् ।
कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट आएका प्रतिभावान एघार जना गायिकाहरूको धमाकेदार उपस्थिति रहेको थियो । आफ्ना सुमधुर स्वरमार्फत नेपाली समाजको पुरानो समय झल्काउने कथा , चेलीबेटीका वेदना, सुख-दुःखलाई तीजका अनमोल भाकाहरूमा उमा बिडारी, राधिका गिरि, सुनिता बुढाथोकी, कमला सिम्खडा, रेखा महर्जन, सरस्वती अर्याल, रेजिना बिसी, सपना देवकोटा, पवित्रा खड्का, विमला भण्डारी र संगिता घलेले निकै नै दमदार ढंगले प्रस्तुत गरेका छन्।

यी एघार वटै गीतहरूलाई संगीत भर्ने काम नेपाली संगीत क्षेत्रका वरिष्ठ संगीतकार बिष्णु गुरुङले गरेका हुन्। उनको मर्मस्पर्शी संगीत संयोजनले गीतहरूलाई थप आकर्षक बनाएको छ। त्यसैगरी, यस प्रतिस्पर्धाका गीतहरूको निष्पक्ष मूल्यांकन गर्नका लागि द्वारिका कुईकेल, चन्द्रा न्यौपाने, सुशीला ढकाल अधिकारी र जानुका थापा रायमाझी रहेको अनुभवी निर्णायक मण्डलले जिम्मा लिएको छ । गायिका पनि नारी र निर्णायक पनि नारी हुनुले गीत प्रतियोगितालाई विशेष बनाएको छ ।
कार्यक्रमलाई भव्य र सफल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूको महत्वपूर्ण सहकार्य रहेको थियो। यस सुन्दर कार्यक्रमको सफल संयोजन चर्चित साहित्यकार ध्रुव गजुरेलले गरेका हुन् भने सम्पूर्ण आतिथ्यता तथा व्यवस्थापनको जिम्मा माछापोखरी प्यालेसले उत्कृष्ट ढंगले निभाएको थियो। कार्यक्रमलाई सफल बनाउन माछापोखरी प्यालेस, कामधेनु सप्लायर्स (चिसापानी) र होराइजन हस्पिटल (नेपालटार) को विशेष प्रायोजन रहेको थियो।
यस उत्सवलाई सफल बनाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सक्रिय सहभागिता रहेको छ। यस कार्यक्रमको मिडिया पार्टनरमा ‘रातो हिमाल साहित्यिक द्वैमासिक’ रहेको छ । गीतहरूको प्रचारप्रसार र छायांकनमा पाण्डे नेटवर्क, ए टु जेट खबर र निलकिरण टिभी लगायतका शुभेच्छुक च्यानलहरूले महत्वपूर्ण सहयोग पुर्याएका छन्।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सुख शान्ति मिडियाका प्रमुख दामोदर ढकाल (दिपक) ले विभिन्न भाकामा स्वर भरिरहेका गायिकाहरूको अन्तर्निहित प्रतिभालाई बाहिर ल्याउन र उनीहरूको सिर्जनात्मक क्षमतालाई राष्ट्रियस्तरमा स्थापित गराउन यो कार्यक्रम एक कोसेढुङ्गा सावित हुने बताए।
परम्परागत संस्कृति र पुरानो समयको मौलिकता जगेर्ना गर्ने उद्देश्यसहित तयार पारिएका यी एघार वटै तीज गीतहरूले छिट्टै नै दर्शक तथा स्रोताहरूको माझमा चर्चा पाउनेमा आयोजक परिवार पूर्ण विश्वस्त रहेको छ।



