
गीतसङ्गीत मनोरञ्जनको साधन मात्र होइन । संगीत त आत्माको अभिव्यक्तिसँग प्रत्यक्ष जोडिएको हुन्छ। यस्तै बुझाइ र साङ्गीतिक रहरलाई जीवनको लक्ष्य बनाउँदै आएकी सुमधुर स्वरकी धनी गायिका हुन् – पवित्रा खड्का ।
रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं. ५ मा जन्मिएकी पवित्रा सानैदेखि नै गीतसङ्गीतप्रति असाध्यै रुचि राख्थिन् ।
बाल्यकालका रमाइला दिनहरूमा सङ्गीतप्रतिको उनको रहरले आकार बनाए । सानै उमेरदेखि गीत गाउने सोख भएकी पवित्रा विद्यालय पढ्दै गर्दा नै शिक्षक तथा साथीहरूको प्रेरणाले बिद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउँथिन्। विद्यार्थी जीवनदेखि नै गायिका बन्ने उनको तीव्र रहर थियो ।
मेलापात जाँदा, घाँसदाउरा गर्न जङ्गल जाँदा वा वस्तुभाउ चराउन जाँदा उनी रुखमा चढेर ठूलो स्वरले गीत गुनगुनाउने र गाउने गर्थिन्; मानौं ती डाँडाकाँडा नै उनको लागि पहिलो रङ्गमञ्च थिए , स्टेज थिए ।
ती रमाइला स्मृतिहरू उनीसँग आजसम्म पनि ताजै छन्। संगीतप्रतिको उनको यो रहर काठमाडौं आएपछी मुर्त हुन पुग्यो ।

काठमाडौँको बसाइले उनी औपचारिक रूपमा संगीत क्षेत्रमा आउन सकिन । गाउँको त्यो बाल्यकाल, ती रमाइला पलहरू र सङ्गीतप्रतिको अगाध प्रेमलाई हृदयमा बोकेर नै काठमाडौँ आएकी थिइन् ।
यहीँबाट उनको जीवनको सबैभन्दा रोचक अध्याय सुरु भयो। काठमाडौँको बसाइपछि उनको साङ्गीतिक जीवनले नयाँ मोड लियो। रामेछापमै घर भएका टंक सुनुवार नामक दाइसँगको भेटले उनलाई साङ्गीतिक क्षेत्रमा अवसर जुराइदियो। टंक दाइकै माध्यमबाट उनले पहिलोपटक गीत गाउने अवसर पाइन् र त्यसपछि थप गीतहरू गाउने बाटो स्वतः खुल्दै गयो। संगीतमा अवसर पाउँदा उनको खुसीको सीमा नै रहेन, जब उनका गीतहरू रेकर्ड हुन थाले । उनलाई झन धेरै खुशी लाग्यो ।
बाल्यकालमा रुखमा चढेर गाएका गीतहरूसँग सुरु भएको उनको सांगीतिक यात्रा रेकर्डिङ स्टुडियोसम्म आइपुगेको छ ।
आफ्नो साङ्गीतिक यात्राका क्रममा उनले ‘तिम्रै झल्को छायामा’, ‘माला गाँसेर’ र ‘ओठैमा लाली छ’ जस्ता गीतहरू रेकर्ड गराइन्। यसपछि उनले आफ्नै एकल प्रयासमा ‘आहा माया’ शीर्षकको अर्को गीत गाइन् । रेकर्डेड गीतहरूपछि उनले केही लाइभ दोहोरी कार्यक्रमहरूमा पनि आफ्नो कला प्रस्तुत गर्दै दर्शकको मन जितिन्।
हालको व्यस्तता र साङ्गीतिक निरन्तरता
आजभोलि उनको साङ्गीतिक क्षेत्रमा उपस्थिति अलि कम भए तापनि गीतसङ्गीतप्रतिको उनको समर्पणमा भने कुनै कमी आएको छैन।
यसैक्रममा उनले भर्खरै गीतकार दामोदर ढकाल ‘दीपक’का शब्द र सङ्गीतकार विष्णु गुरुङको सङ्गीतमा तीज गीत प्रतियोगिताका लागि झ्याउरे लयमा एउटा नयाँ गीत रेकर्ड गराइसकेकी छिन्। यस गीतको म्युजिक भिडियो अहिले सम्पादनको क्रममा रहेको छ, जसले श्रोता तथा दर्शकहरूबाट साथ सपोर्ट पाउनेमा उनी ढुक्क छिन ।
सङ्गीतप्रतिको आफ्नो यही अगाध प्रेम र भावनालाई व्यक्त गर्दै गायिका पवित्रा खड्का भन्छिन् — “मेरो लागि गीतसङ्गीत जीवनको एक अमूल्य उपहार हो, म यहीँ रम्न चाहन्छु , मलाई संगीतप्रति सधैं बिश्वास छ ।”
बाल्यकालको वनजङ्गलमा रुखमा चढेर गाएका गीतहरूदेखि लिएर व्यावसायिक स्टुडियो र रेकर्डिङसम्मको पवित्रा खड्काको यो यात्रा सङ्घर्ष, धैर्य र सङ्गीतप्रतिको निस्वार्थ प्रेमको एक उदाहरण बनेको छ।



