
काठमाडौं, साउन १५। मानवता शब्दमा सीमित नभई कर्ममा झल्किन्छ भन्ने सन्देश दिँदै ‘करुवा सृजनशील नेपाल’ले यस वर्षको श्रावण १५ लाई अत्यन्तै फरक, सिर्जनशील र परोपकारी ढङ्गले मनाएको छ। संस्थाले यस विशेष दिनमा सामाजिक उत्तरदायित्व र साहित्यिक सिर्जनालाई एकै सूत्रमा बाँध्दै दुई चरणमा भव्य कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो चरणअन्तर्गत संस्थाका पदाधिकारी तथा सदस्यहरू तारकेश्वरस्थित काठमाडौं अपाङ्गता समाजका आमाबुबाहरूको माझ पुगेका थिए। त्यहाँ उनीहरूले ज्येष्ठ नागरिक तथा आश्रित बुबाआमाहरूलाई स्नेहपूर्वक खीर तथा भोजन गराउँदै सम्मान व्यक्त गरेका थिए। यस पवित्र र मानवीय कार्यलाई सफल बनाउन भोजराज पाण्डे, हरि भट्ट र बिनिता थापाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याएका थिए। साथै, संस्थाका समर्पित सदस्यहरू बन्दना ढकाल, अस्मिता काफ्ले, अस्मिरा राणा, स्वेता थपलिया र उज्ज्वल पौडेलको निस्वार्थ सेवा र अथक परिश्रमले आश्रमको यो कार्यक्रमलाई अर्थपूर्ण बनेको थियो।
दिनको सेवाभावपूर्ण र परोपकारी कार्यपछि साँझको समयमा ‘शब्द साँझ–विशेष शृङ्खला’ शीर्षकमा साहित्यिक उत्सवको भव्य आयोजना गरियो। संस्थाका अध्यक्ष विनोद थापाको सभाध्यक्षता तथा सचिव अविरल घिमिरेको सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष प्रस्तुतिहरू राखिएका थिए। कार्यक्रममा कवि तथा गजलकार महेश दोस्ताज, मुक्तककार विजय घिमिरे ‘विफल’ (जो संस्थाका सल्लाहकार संयोजक हुन ) र काव्यिक व्यक्तित्व रविना कँडेलले तीन चरणमा आफ्ना सशक्त कविता, गजल र अर्थपूर्ण मुक्तकहरू वाचन गरेर माहोललाई साहित्यिक र भावुक बनाएका थिए। यस शृङ्खलाले उपस्थित सबै साहित्यप्रेमीलाई थप प्रेरित गर्न सफल भयो।

“शब्दले समाज सजाउँछ, मनले मानवता बचाउँछ” भन्ने मूल नारालाई आत्मसात् गरेको यस संस्थाको सम्पूर्ण कार्यसमितिको योजनाबद्ध समन्वय र निरन्तर सक्रियताकै कारण यो बृहत् अभियान सम्भव भएको हो।
संस्थाले आगामी दिनहरूमा पनि यस्तै सामाजिक, मानवीय र साहित्यिक गतिविधिहरूलाई सँगसँगै अघि बढाउँदै समाजमा सकारात्मक परिवर्तनको दीप जलाइरहने दृढ प्रतिबद्धता अध्यक्ष विनोद थापाले जनाएका छन्।

कार्यक्रमको प्रायोजक चिया पिरिम ,मिडिया पार्टनर फिल्ममाण्डु र सहकार्य आस्लुनले गरेको थियो ।
यस पुण्यकार्यलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण स्रष्टा, सहयोगी, शुभेच्छुक, कार्यसमिति तथा सहभागीहरूमा संस्थाले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ।



