रसुवाको पर्यटकीय आकर्षण ‘भाङ्गे झरना’ लाई समेट्दै गायक केशव अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक
काठमाडौं — नेपाली साङ्गीतिक क्षेत्रमा मौलिकता र प्राकृतिक सौन्दर्यको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएका गायक तथा सर्जक केशव अधिकारीको नयाँ लोकदोहोरी गीत ‘भाङ्गे झरना’ सार्वजनिक भएको छ। रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं. ५, बडहरेमा जन्मिएर कला क्षेत्रमा निरन्तर सक्रिय अधिकारीले यसपटक आफ्नो जन्मभूमिको प्रमुख पर्यटकीय गन्तव्यलाई साङ्गीतिक कोसेलीको रूपमा प्रस्तुत गर्नुभएको छ ।
‘KESHAB ADK OFFICIAL’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा गायक केशव अधिकारी र इब्साल सञ्यालको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतमा शब्द तथा संगीत स्वयं गायक अधिकारीकै रहेको छ भने यसको साङ्गीतिक संयोजन (एरेञ्ज) मदन सफीक्स हुन । गीत एरिका डिजिटल स्टुडियोमा रेकर्ड भएको हो ।
गीतको म्युजिक भिडियो पक्षलाई पनि कलात्मक र व्यावसायिक तवरले तयार पारिएको छ। उमेश कार्की ‘यूके’ को निर्देशन तथा सम्पादन रहेको यस भिडियोमा गायकद्वय केशव अधिकारी र इब्साल सञ्यालको उत्कृष्ट अभिनय रहेको छ। मरुभूमि नारायणको उत्कृष्ट छायांकन र सरोज पाण्डेको मेकअपले सजिएको यस भिडियोले रसुवाको रमणीय भाङ्गे झरनाको प्राकृतिक सौन्दर्य र यसको पर्यटकीय महत्त्वलाई पर्दामा उतारेको छ।
यस नयाँ लोकदोहोरी गीतमा नेपालका दुई फरक भूभागका अत्यन्त रमणीय र मनमोहक प्राकृतिक गन्तव्यहरू—रसुवाको प्रसिद्ध ‘भाङ्गे झरना’ र कालीकोटको प्रख्यात ‘पचाल झरना’ लाई विशेष रूपमा समेटिएको छ।
मार्मिक भाका र उत्कृष्ट साङ्गीतिक संयोजन रहेको यस गीतमा कलाकारहरूको अभिनय निकै उम्दा बनेको छ भने झरना र वरपरका प्राकृतिक स्थलहरूको छायांकनले दर्शकलाई मन्त्रमुग्ध पार्ने खालको छ। आफ्नो साङ्गीतिक रुचि र जन्मभूमिप्रतिको गहिरो प्रेमलाई केन्द्रमा राखेर यो गीत तयार पारिएको गायक अधिकारीले बताउनु भयो ।
आफ्नो अतिप्रिय जिल्लाको पर्यटन प्रवर्द्धन गर्नु र यसको पहिचानलाई देशविदेशमा फैलाउनु आफ्नो मुख्य प्रयास रहेको उनको भनाइ छ।
गायक केशव अधिकारीको साङ्गीतिक तथा व्यक्तिगत संघर्ष सँगै कुनै स्वार्थको लागि नभई रसुवा आफ्नो मुटु मान्दै उहा आफ्नो जन्म भुमिको प्रचारप्रसारको लागि भिडियो निर्माण गरेको बताउनु हुन्छ ।
विगत आधा दशकभन्दा बढी समयदेखि नेपाली कला क्षेत्रमा निरन्तर सक्रिय केशव अधिकारी गायक, मोडल ,कलाकार तथा सर्जकका रूपमा परिचित हुनुहुन्छ। सानैदेखि कला क्षेत्रप्रति विशेष लगाव राख्दै आउनुभएका उहाँले विभिन्न असहज परिस्थिति र उतारचढावलाई चिर्दै आफ्नो यात्रालाई अगाडि बढाइरहनुभएको छ।
केही समय अगाडि भएको जेन्जी आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएर पनि आफ्नो बलियो इच्छाशक्तिका बलमा जीवनको नयाँ रूप प्राप्त गर्दै उहाँ पुनः कला क्षेत्रमा सक्रिय हुनुभएको छ।
कठिन परिस्थितिलाई पार गर्दै पुनरागमन गर्न पाउँदा उहाँ अत्यन्तै खुसी व्यक्त गर्नुहुन्छ। आफ्नो सङ्घर्षपूर्ण यात्रा र सिर्जनात्मक क्षमताकै कारण आज उहाँ रसुवा तथा नुवाकोट क्षेत्रका संगीतप्रेमीहरूको मन जित्न सफल एक प्रिय सर्जकको रूपमा स्थापित हुनुभएको छ ।
रसुवाको प्राकृतिक सम्पदा ‘भाङ्गे झरना’ को प्रचारप्रसार गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो लोकदोहोरी गीतले दर्शक तथा श्रोताबाट उच्च प्रशंसा बटुल्ने अपेक्षा गरिएको छ।



