कविता घर फर्कनेहरू?

- ​पलपल समीप


एक साँझ,
तपतप पातमा बजिरहेको पानीको सङ्गीत,
तुलसीको मठनेर
फैलिइरहेको अगरबत्तीको धुवाँ
र त्यसमै मिसिएको फूलहरूको सुगन्धले
जन्माइरहेछ एक मादक सुवास।

​बरण्डामा बसेर नियालीरहेछु
बाटोमा दौडिरहेका
सवारीसाधनहरू, मानिसहरू,
दूध डेरी, होटल,
स्टेशनरी, वर्कसप..

मानिसहरू हिडेका छन्
​कोही हातमा दूधको प्याकेट बोकेर,
कोही कापी, कलम
क्यालकुलेटर लिएर।

​मन प्रश्न गर्छ,
हिसाब मिलाउने क्यालकुलेटरले
सम्बन्धको समीकरण मिलाउला कि नमिलाउला ?

​सायद घरमा आगो नबल्नेहरू
होटल पसे।

​सोचेँ,
यी अविवाहित होलान्
या शहरमा एक्लै सङ्घर्ष गर्दै होलान्

​डोर्याउँदै ल्याएको मोटरसाइकल
वर्कसप पस्यो र गुड्न सक्ने बनेर निस्कियो।

मेसिन मर्मत गर्ने वर्कसप झैँ
सम्बन्ध जोड्ने कुनै कारखाना
होला कि नहोला शहरमा?

​दूधको प्याकेट,
कापी, कलम, क्यालकुलेटर,
वर्कसपमा बनेको मोटरसाइकल—
यी सबै
के यी साँच्चै घरै पुग्लान
या
बासस्थान मात्र?

​दर्जनौँ जुत्ताहरू
ओहोरदोहोर गर्छन्
घरको ढोकाबाट
फगत बासस्थानको निम्ति।

​चुलोमा आगो त बलेको छ,
भाँडाहरू तातेका छन्,
तर आत्माको ताप कुन धुवाँले
कुन ऋतुमा उडाई लग्यो?

​बाले समय कटाउन
एउटै अखबार कतिपटक पढे?
आमाले आफ्नो आँसुको साक्षी
सिरानीलाई बनाएको कसले देख्यो?

​देशदुनियाँको ज्ञान दिने
मोबाइल छ सबैसँग
तर
आमाको आँसुको करुणा,
बाको निधारमा नदेखिएको दु:ख
पढ्ने स्क्रिन केमा होला?

​त्यतिखेरै
एक झोका हावा
मिठो सुगन्ध छोडेर गयो,
सायद
सकिन लागेको अगरबत्तीको सास थियो

​जसरी कि
घरभित्र बाँकी रहन्छ
कुनै पुरानो सम्बन्धको
अन्तिम न्यानोपन

यसमा तपाइको मत