पर्यटन व्यवसायी रमेश घिमिरेद्वारा नाट्टाको सचिव पदमा उम्मेदवारी घोषणा


काठमाडौँ — नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनका लागि युवा पर्यटन व्यवसायी रमेश घिमिरेले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

​ठमेललाई कर्मथलो बनाई विगत दुई दशकदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका घिमिरेले यही साउन २९ गते हुन लागेको नाट्टाको निर्वाचनमा ‘जिस्वाँ तुलाधर समूह’बाट सचिव पदका लागि उम्मेदवारी दिएका हुन् ।

​सचिव पदका उम्मेदवार घिमिरेले नाट्टाका सदस्य कम्पनीहरूको हकहितका पक्षमा दृढतापूर्वक उभिने अठोट व्यक्त गरेका छन् । उनले नाट्टालाई अझ समावेशी, पारदर्शी, उत्तरदायी, सदस्यकेन्द्रित र सशक्त संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफ्नो दुई दशक लामो व्यावसायिक अनुभवलाई संस्थागत सुधार तथा समग्र पर्यटन क्षेत्रको बृहत्तर हितमा उपयोग गर्ने उनको योजना छ।
को हुन घिमिरे ?


पुर्वी नेपालको ​खोटाङको रुपाकोट मझुवागढी नगरपालिका १४, बुइपामा जन्मिएका घिमिरे अध्ययनको सिलसिलामा सन् २००६ मा काठमाडौँ आएका थिए । पढाइलाई निरन्तरता दिँदै पर्यटन क्षेत्रमा होमिएका उनले सुरुमा विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनीमा काम गरेका थिए । अनुभव र दृढ संकल्पका साथ उनले सन् २०१२ मा आफ्नै स्वामित्वमा ‘वेल नेपाल ट्राभल एण्ड ट्रेक्स’ सञ्चालनमा ल्याएका हुन् , यस कम्पनीले हाल दर्जनौँ युवालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।

​व्यावसायिक यात्रालाई विस्तार गर्दै घिमिरेले हाल काठमाडौँको ठमेलमा ‘टेम्पल स्वीट काठमाडौँ प्रालि’ (होटल) र ‘टेम्पल हस्पिटालिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि’ सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।
पर्यटन प्रवर्द्धनको सिलसिलामा विश्वका ६० भन्दा बढी मुलुकहरूको भ्रमण गरिसकेका घिमिरेसँग अन्तर्राष्ट्रिय पर्यटन बजारको गहिरो ज्ञान र अनुभव रहेको छ।

यसमा तपाइको मत