आधुनिक साहित्य परिषद्को नियमित रचनावाचन, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण सम्पन्न



काठमाडौं — आधुनिक साहित्य परिषद्को आयोजनामा नियमित रचनावाचन, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। परिषद्का अध्यक्ष कवि मुरलीप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ प्रमुख अतिथि तथा राजकीय संस्कृत मावि मटियानीका प्राचार्य ईश्वरी पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वरिष्ठ स्रष्टा धीरेन्द्र प्रेमर्षिलाई ‘आधुनिक रत्न’ सहितको विभूषण प्रदान गर्दै सम्मान गरिएको थियो। यस्तै, साहित्यकार दामोदर ढकाल ‘दीपक’द्वारा लिखित उपन्यास ‘दिव्य साधना’ को ईबुक लोकार्पण गरिएको थियो। कार्यक्रममा ढकालको जन्मदिनसमेत मनाइएको थियो ।
निलकिरण टिभीका प्रमुख निलनाथ आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राष्ट्रिय गान तथा समुद्घाटनपछि विभिन्न स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए। चेवन बस्नेत ठुलाघरे , उमा विडारी, प्राज्ञ रूपाकुमारी झा, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, सरस्वती अर्याल, शम्भु गजुरेल ,लीलामाया ढकाल गौतम , मन्जु थापा लगायत सस्ट्राहरूले सम्मानित स्रष्टा धीरेन्द्र प्रेमर्षिका साथै आफ्ना रचना प्रस्तुत गरेका थिए।


सम्मानित स्रष्टा प्रेमर्षिको व्यक्तित्व तथा साहित्यिक योगदानबारे दामोदर ढकाल ‘दीपक’ले प्रकाश पारेका थिए। ‘दिव्य साधना’ उपन्यासको समीक्षा रसुवाली कविले गरेका थिए। समीक्षक रसुवाली कविले उपन्यासले नेपाली समाजमा महत्वपूर्ण बहस र तरङ्ग सिर्जना गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्राचार्य ईश्वरी पौडेल तथा वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौडेलले शुभकामना मन्तव्य दिएका थिए। सम्मान ग्रहणपछि धीरेन्द्र प्रेमर्षिले प्राप्त सम्मानलाई आफ्नो साहित्यिक जीवनकै एक सुखद उपलब्धिका रूपमा लिँदै आयोजकप्रति आभार व्यक्त गरे।
प्रमुख अतिथि डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले धीरेन्द्र प्रेमर्षिको सम्मान, दामोदर ढकाल ‘दीपक’को कृति लोकार्पण तथा जन्मदिन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए।
कार्यक्रममा सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’, प्राज्ञ रूपाकुमारी झा, गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइकेल, ‘आगो’ काव्य विधाका परिकल्पनाकार दीर्घबहादुर चन्द, शीत काव्य समाज नेपालका अध्यक्ष कृष्णबहादुर केसी, वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौडेललगायत साहित्यकार तथा स्रष्टाहरूको उपस्थिति थियो।
समारोहमा साहित्यकार, लेखक तथा स्रष्टासहित ७० भन्दा बढीको सहभागिता रहेको थियो। करिब साढे तीन घण्टा चलेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक डा. ध्रुव गजुरेलले गरेका थिए।


अन्त्यमा परिषद्का अध्यक्ष मुरलीप्रसाद ढकालले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै स्रष्टालाई सम्मान गर्न तथा नयाँ कृतिको लोकार्पण गर्न पाउनु परिषद्का लागि गौरवको विषय भएको बताएर कार्यक्रम समापन गरे।

यसमा तपाइको मत