नाडा अटो शो २०२६ भदौ ९ देखि, २०० स्टल रहने



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसरमा ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
यस वर्षको अटो शोमा करिब २०० स्टल रहनेछन्। प्रदर्शनीमा २२ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधनका साथै ८ नेपाली उत्पादक र ६९ कम्पोनेन्ट तथा अन्य व्यवसायीको सहभागिता रहनेछ।

पंकज अग्रवाल 
प्रदर्शनीमा सवारीसाधनसँगै स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट्स, अटो कम्पोनेन्ट्स, ग्यारेज इक्विपमेन्ट्स तथा बैंकिङ र बीमा सेवासमेत एउटै छानामुनि उपलब्ध हुनेछन्।
नाडाका कोषाध्यक्ष पंकज अग्रवालका अनुसार अटो शोले विभिन्न ब्रान्ड तथा उत्पादनलाई एकै स्थानमा अवलोकन गरी उपयुक्त सवारीसाधन तथा अटोमोबाइल सामग्री छनोट गर्न उपभोक्तालाई सहज बनाउनेछ। साथै, सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन तथा नयाँ उत्पादन र प्रविधि सार्वजनिक गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत यो अटो शो रहने अपेक्षा गरिएको उनले बताए।


अग्रवालले स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको यस विशेष अटो शोमा सम्पूर्ण नेपालीलाई सहभागी हुन आग्रह गरेका छन्। उनले अटोमोबाइल क्षेत्रको विकास, नयाँ प्रविधिको जानकारी तथा विभिन्न उत्पादनबारे प्रत्यक्ष जानकारी लिन प्रदर्शनी उपयोगी हुने बताए।

यसमा तपाइको मत