
काठमाडौं । नेपाली चलचित्र ‘रंगी’ का लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्ने तयारीमा छन्। गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्माण तथा निर्देशनको तयारीलाई अघि बढाएका हुन्।
यस चलचित्रमा कथा, पटकथा लेखन तथा चलचित्रको निर्देशन गजमेर स्वयंले गर्नेछन्। जेनेरेसन–जेड (Gen Z) को जीवनशैली, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर चलचित्र निर्माण गरिने निर्माण पक्षले जनाएको छ।
प्रेमकथामा आधारित ‘हाम्रो सानो घर’ ले मनोरञ्जनसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत प्रस्तुत गर्नेछ।
चलचित्र रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुनेछ। कम्पनीले यसअघि चलचित्र ‘परिवार’ निर्माण गरिसकेको छ, जुन हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको छ। चलचित्र निर्माणसँगै कम्पनीले म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गरिसकेको छ।

गजमेरको यात्रा :लेखनदेखि निर्देशनसम्म
निर्देशनमा पाइला चाल्नुअघि नै गजमेरले ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म लेखन तथा निर्देशन विषयमा स्नातकसम्म अध्ययन पूरा गरेका छन् । उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशक भएर काम गरेका छन् ।
लेखनमा समेत सक्रिय गजमेरले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’ र ‘भित्ते पात्रो’ लगायतका चलचित्रमा काम गरिसकेका छन्। उनले लेखेको ‘हेलो ब्रो’ सिरिजसमेत प्रसारण भइसकेको छ।
गजमेरले निर्देशन गरेको लघु चलचित्र ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत छनोट भइसकेको छ। सामाजिक यथार्थ, ग्रामीण जीवन, प्रेम, बसाइँसराइ , विभेद जस्ता बिषय गजमेरको रोजाइमा परेका छन् ।


