
गुल्मी जिल्लाको मालिका गाउँपालिका स्थायी निवासी नवगायिका रेजिना बिसी आफ्नो मधुर स्वर, कलाप्रतिको समर्पण र निरन्तरको संघर्षका कारण दर्शकस्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदैछिन्।
वि.सं. २०५९ साल चैत १५ गते जन्मिएकी रेजिना बिसीका पिता हरिबहादुर बिसी र माता लक्ष्मी बिसी हुन्। सानै उमेरदेखि गाउँघरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी रेजिनाको नाचगानमा विशेष रुचि थियो। बाल्यकालदेखि नै कलाप्रतिको आकर्षण र लगावले उनलाई सांगीतिक यात्रातर्फ अघि बढाएको हो।
गुल्मीको स्थानीय परिवेशबाट आफ्नो कला यात्रा सुरु गरेकी रेजिनाले गुल्मी अडिसनमा समेत उत्कृष्ट प्रस्तुति दिँदै पुरस्कार प्राप्त गरेकी थिइन्। उक्त सफलताले उनको आत्मविश्वास बढाउनुका साथै सांगीतिक क्षेत्रमा केही गर्ने सपनालाई थप मजबुत बनायो।

गुल्मीबाट काठमाडौं आएपछि उनले आफ्नो सांगीतिक यात्रालाई थप व्यापक बनाइन्। विशेषगरी लाइभ दोहोरीमा सक्रिय रेजिनाको दर्शकसँग प्रत्यक्ष संवाद गर्दै गीत प्रस्तुत गर्ने शैलीले उनलाई अन्य कलाकारभन्दा फरक पहिचान दिएको छ। उनले विभिन्न लोकदोहोरी गीतमा अभिनयसमेत गरेर आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरिसकेकी छन्।
रेजिना भन्छिन्, “कला नै मेरो जीवनको आधार र सपना हो। कलाले मलाई हजारौँ मानिसमाझ चिनारी दिएको छ।”
यही दृढ संकल्पका साथ रेजिना निरन्तर कलाक्षेत्रमा अगाडि बढिरहेकी छन्। उनको सांगीतिक यात्रामा संघर्षसँगै लगनशीलता, आत्मविश्वास र कलाप्रतिको गहिरो निष्ठा देखिन्छ। सीमित अवसरबाट सुरु भएको उनको यात्रा अहिले विभिन्न सांगीतिक कार्यक्रम, लाइभ दोहोरी तथा गीत–संगीतका प्रस्तुतिसम्म विस्तार भएको छ।
हालै ‘सुख शान्ति मिडिया’द्वारा आयोजित तीज गीत प्रतियोगितामा उनले गीतकार दामोदर ढकाल ‘दीपक’को शब्द तथा संगीतकार विष्णु गुरुङको संगीत रहेको ‘भेटिन्न दौंतरी’ गीत प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्तुतिले रेजिनालाई सांगीतिक क्षेत्रमा थप चिनाउन भूमिका खेलेको छ।

नवयुवावस्थामै कलाक्षेत्रमा सक्रिय र व्यस्त रेजिना बिसी अहिले जोशिली, मेहनती र सम्भावनाशील नवगायिकाका रूपमा अघि बढिरहेकी छन्। उनको स्वर, प्रस्तुति शैलीले नेपाली लोकसंगीत क्षेत्रमा आगामी दिनमा राम्रो सम्भावना देखाएको छ।
संगीत रेजिनाका लागि रुचिको क्षेत्र मात्र नभई सपना र पहिचान निर्माण गर्ने आधारसमेत बनेको छ।
गुल्मीबाट सुरु भएको उनको सांगीतिक यात्रा निरन्तर संघर्ष, मेहनत र लगनशीलतासँगै अघि बढिरहेको छ। आगामी दिनमा उनको यो यात्रा अझ फराकिलो बन्दै जाने देखिन्छ ।


