
नेपालमा कविता सङ्ग्रह प्रकाशनको क्षेत्रले १९५८ सालदेखि क्रान्तिकारी फड्को हानेको छ। यस विधालाई जन–जनसम्म लोकप्रिय बनाउने दिशामा भक्तिरसको धारा बगाउँदै रच्न थालिएका कविताहरूले आजका दिनसम्म विभिन्न चरण पार गर्दै र यसमा साहित्यिक विधाका विभिन्न रसहरू प्रवाह गर्दै नेपाली साहित्यलाई समृद्ध बनाउने काम गर्दै आएको छ। कविताको क्षेत्रमा नाम कमाएका आदिकवि भानुभक्त आचार्य तथा मोतिराम भट्टदेखि लिएर महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कवि शिरोमणि लेखनाथ पौडेलजस्ता नेपाली सहित्यजगतका ज्वाजल्यमान ताराहरूले नेपाली कविता जगतलाई एउटा उँचाई दिए भने कालान्तरमा प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी र प्रगतिशील विचारधारा बोक्ने क्रान्तिकारी कविहरूले समेत यस क्षेत्रलाई थप समृद्धि प्रदान गर्न चुकेनन्।
यसै क्रममा एक दिन पत्रकार मित्र कुमार रञ्जितले मलाई पुस्तकहरूको समीक्षा गर्नेगरेको देखेर होला एउटा कविता सङ्ग्रह दिंदै भन्नुभयो – ‘यसको पनि समीक्षा लेखेर दिनोस है त।’ म असमञ्जसमा परें । एकातिर उहाँको आत्मविश्वास, अर्कोतिर मभित्र कवि नहुनाको आभास । एकजना मित्रको आत्मविश्वासमा धक्का नपुगोस् भनी पुस्तक समाएँ र एकजना पाठकको रूपमा कृतिका पानाहरू पल्टाउन थालेँ। कृतिमा नवरसको छाप पाएँ। पाना पल्टाउँदै जाँदा कृतिमा आफ्नै खालको मौलिकता पाएँ। ‘आरोह अवरोह’ शिर्षक भएको यस कविता सङ्ग्रहको, जसलाई कवि प्रीतम मान शाक्यले भावसङ्ग्रहको संज्ञा दिएका छन्, रचना शैलीले प्रभावित पार्दै जान थाल्यो। अनि सम्झें महेन्द्र संस्कृत महाविद्यालयका प्राध्यापक डा. काशीनाथ न्यौपानेका वाक्यांशहरू। उनी लेख्दछन्– ‘कविले लेखेको हुँदैन, उसका माध्यमले कविता स्वतः प्रस्फुटित हुन्छिन्, अनि जसका माध्यमले प्रस्फुटन क्रिया सम्भव हुन्छ उही कवि बन्छ ।’ मेरो दृष्टिमा प्रीतम मान शाक्य यसै वर्गका कवि हुन्।
समीक्षाधीन कृति ‘आरोह अवरोह’ को सम्बन्धमा आफ्नो ‘अनुभूति र विचार’ व्यक्त गर्ने बेल्कोटगढी नुवाकोटका प्रेमकृष्ण तिवारी लेख्दछन्– ‘प्रीतम मान शाक्य नेपाली सहित्यमा स्थापित स्रस्टाका रूपमा परिचित नभए पनि सिर्जनामा संलग्न रहँदै आएका सर्जक हुन्। कविता केवल शब्दहरूको संयोजन मात्र होइन, यो अनुभूतिको भाषा पनि हो। जब मनभित्र उत्पन्न पीडा, व्यथा, वेदना, प्रेम, आशा, भरोसा र अपेक्षाजस्ता भावनाहरू सामान्य अभिव्यक्तिले धान्न सक्दैनन्, तब कविता जन्मिन्छ। प्रीतम मान शाक्यको प्रस्तुत भावसङ्ग्रह पनि यस्तै अनुभूतिहरूको दीर्घ यात्राको परिणाम हो, जहाँ कविले आफ्ना निजी भावनालाई समाज र समयसँग जोडेर काव्यात्मक रूप दिएका छन्। यस सङ्ग्रहका कविताहरू कुनै निश्चित विधागत सीमाभित्र बन्द छैनन्। कतै यी कविता आत्मसंवादजस्ता लाग्छन्, कतै प्रेमपत्रजस्ता र कतै सामाजिक टिप्पणीझैंँ लाग्न् यही बहुआामिक स्वरूपले सङ्ग्रहलाई एकरस हुन दिएको छैन।’
कविता, गीत, पद्य, गजल, शायरी आदि साहित्यक विधाका महत्वपूर्ण अंग हुन् र यिनमा निहित भाव र विभिन्न रसमा सिञ्चित रचनाले पाठक वर्गलाई हर्ष मात्र होइन असीम आनन्द प्रदान गर्दछन्। डा. न्यौपानेका शब्दलाई एकपल्ट फेरि सापट लिँदा त यसले ‘दिव्य सुख’ पनि प्रदान गर्दछ । यसैले ठाउँ–ठाउँमा आयोजना हुने कवि सम्मेलन एवम् मुशायरा आदिका महफिल यसै हास्यरसको प्रभावका कारण तालीको गुञ्जन र हर्षोल्लासको ध्वनिबाट गुँजिरहेको हुन्छ। आजका दिनमा यस्ता कृतिहरू प्रकाशमा आई राख्नु यसको प्रमाण पनि हो।

सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर)ले ‘आरोह अवरोह’ का प्रकाशकका रूपमा प्रकाशकीयमा लेखेका छन्– ‘लेखकले निजी अनुभूतिलाई सामाजिक यथार्थसँग जोड्दै कविता केवल भावको अभिव्यक्ति मात्र नभई चेतनाको माध्यम पनि हुन सक्ने देखाएका छन्। यसमा समाविष्ट रचनाहरूलाई सम्पादन नगरी लेखकको मौलिकतालाई लेखककै इच्छाअनुसार सुरक्षित राखिएको छ । सरल, बोलचालका भाषा र मुक्त छन्दमा रचिएका उनका यी भावहरू पाठकका लागि उपयोगी हुने विश्वास छ।’
कविताले कविको मनोदशाको चित्र प्रकट गर्नेगरेका हुँदा कुनै कविताको विषय प्रकृति चित्रणसित सम्बन्धित हुन्छ भने कुनै प्रेम प्रसङ्गसित। कसैमा राष्ट्रियताको भाव प्रमुख हुन्छ भने कसैमा आध्यात्मिकताको प्रबलता हुन्छ त कुनै कविताले क्रान्ति र क्रान्तिकारिताको नारा घन्काइरहेको हुन्छ। गणतन्त्रका लागि भएको जनयुद्धताका यस्ता अनेक गीत र कविता रचिए, जुन आज पनि स्मरणीय छन्। जसका रचनाकार अविस्मरणीय छन्। ‘आरोह–अवरोह’ मा समाविष्ट कविता पनि समसामयिक वातावरण, कविको स्वभाव र मनोदशाअनुसार रचना भएको बुझिन्छ।
वि.सं. २०८२ मा काठमाडौंमा प्रकाशित र अमेरिकाको नर्थ क्यारोलिना राज्यबाट विमोचित कवि प्रीतम मान शाक्यको रचना ‘आरोह अवरोह’ मा समावेश ९७ वटा कविताको सङ्गालोबाट उद्धृत एउटा भाव (कविता’)–
जिद भनेको कस्तो, कुरै बुझ्न गार्हो
कसैको मनमा के हुन्छ, भन्न गार्हो
अभिनय गर्छन, एउटा बाहिर अर्कै
भन्नै नसक्ने गर्दोरहेछन्, सुन्न गार्हो।
अर्को कविता, (कविका शब्दमा भाव)–
स्वार्थी छन् मानिस यहाँ, जहाँ मिठो त्यहाँ जान्छन्
आफ्नो मान्छे भन्दैनन्, जहाँ मिठो त्यहाँ जान्छन् ।
उनको अर्को भाव–
सबै थोक तिमी नै हौ, मलाई केही कमी छैन
तिमी नभए बरू मलाई लाग्छ, संसार केही छैन ।
पाठक वर्गसामु ‘आरोह अवरोह’ शिर्षक बोक्दै आएको यस्ता विभिन्न भावहरूको सङ्गालो पठनीय र मननीय छ।
नेपाली संगीत जगतमा प्रसिद्ध गायकका रूपमा नाम कमाएका पन्नकाजी, जो गायक मात्र नभई गीतकार, संगीतकार तथा नाटक कलाकार पनि हनुहुन्थ्यो, को संगीतमय घरायसी वातावरणमा जेठा छोराका रूपमा जन्मेका प्रीतम मान शाक्यमा गीत–संगीतको प्रभाव पर्नु स्वाभाविक नै भयो। गायक बन्न नसके पनि गीतकारका रूपमा उनका अनेक गीत रेकर्ड भए, पत्र–पत्रिकामा छापिए र अब अहिले भाव सङ्ग्रहका रूपमा पाठक वर्गसामु विभिन्न कविताहरूको सङ्गालो आएको छ। जीवन आरोह–अवरोहको एक जीवन्त प्रमाण हो र यसको चित्रण उनले विभिन्न रूपमा यस सङ्ग्रहमा गरेका छ



