
रसुवा— नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी बाढीबाट प्रभावित रसुवाका बाढीपीडितहरूका लागि राहत वितरण, नगद सहयोग तथा आपतकालीन आश्रयस्थल व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।
बाढीपीडितहरूलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा राहत तथा निर्माणका कार्यहरू भइरहेका छन्। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदाकुमार न्यौपाने (सरोज) का अनुसार, स्याफ्रुबेसीमा १५३ घरपरिवारका लागि आपतकालीन आश्रयस्थल (शेल्टर) निर्माणको काम भइरहेको छ । त्यस्तै, दसैँअघि नै उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका बाढीपीडितहरूलाई नगद राहतसमेत वितरण गरिएको केन्द्रीय सदस्य न्यौपानेले जानकारी दिए।

मानवीय सेवामा सधैँ समर्पित रहँदै आएको रेडक्रसले आपतकालीन राहतदेखि बासस्थानको प्रबन्धसम्मका सम्पूर्ण गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको। छ।
राहत वितरण तथा क्षेत्र अनुगमनका क्रममा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रस क्रिसेन्ट सोसाइटी महासङ्घ (IFRC) का कन्ट्री डाइरेक्टर डेभिड फिसर, नेपाल रेडक्रस सोसाइटीका सभापति डा. विशाल भण्डारी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धर्मदत्त उप्रेती लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

केन्द्रीय सदस्य न्यौपानेले अब तत्कालको राहत वितरणसँगै बाढीपीडितहरूको दीर्घकालीन हितलाई ध्यानमा राखेर पुनस्थापना, पुनर्बास, रोजगारी सिर्जना र विकास निर्माणका योजनाहरू अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।




