अनेकोटका सांस्कृतिक सहिदहरु


6x2-Anekot-–-Sat-tara-copy-1070x535आज भन्दा १७ वर्ष अगाडि च्याङ्वा लामासहितको कलाकार टिम काभ्रेको अनेकोटमा पुग्यो । थाङ्का लेख्न छाडेर युद्धमा होमिएका च्याङ्बा लामा उक्त टिमका कमाण्डर थिए । टिममा सहभागि थिए, काभ्रेको होक्सेका चिनिमाया तामाङ, अनैकाटकै गुम्बा सिँ तामाङ, सिन्धुपाल्चोककी सुभद्रा सापकोटा, सिन्धुपाल्चोककै डम्बर श्रेष्ठ, सिन्धुलीकी निर्मला देबकोटा र सिन्धुलीकै मन्जु कुवर ।

उनीहरुसँग बम र बारुद र बन्दुक थिएन । थिए केवल मादल, बाँसुरी, हार्मोनियम । उनीहरु अनेकोटको एउटा घरमा गरेर बसे । गरीबी र अभावले थिलोथिलो भएको तामाङ बस्तीमा चेतनाका गीत आउन थाले । गरीव छौं, भयौं मात्र भनेनन्, कसरी गरीब बनाईयो भन्ने गीत गाए ।

घर घेरा हालेर बसेका प्रहरीहरुले बर्साउँन थाले अन्धाधुन्द गोली । कलाकारको छातिमा ताकी ताकी बन्दुक दागीयो । मादल फुट्यो । बाँसुरी फुट्यो । गितारका तारहरु छिने । घरमा आगो लगाई दिए । मौन सन्नाटामा डुब्यो अनेकोट ।

बेलुकी रेडियो नेपालले भन्यो ‘मुडभेडमा बन्दोबस्तीका सामानसहित ७ जना माओवादीको मृत्यु ।

यसरी जनताको कलाकारले रगत बनाएको आज १७ वर्ष पुग्यो । उनीहरुको हातमा बन्दुक थिएन। थियो त केवल मादल, बाँसुरी र हार्मोनियम । बन्दुकको गोली भन्दा हजार गुणा खतरनाक ठानियो संगीतको स्वर।

बितेको १७ वर्षमा ती साँस्कृतिककर्मीहरुको सम्झनामा ‘साँस्कृतिक प्रतिरोध दिवस’ मनाउने भन्दा अरु केही हुन सकेन । दिवसपनि प्रत्येक वर्ष कमजोर हुँदै हुँदै गएको छ । यो वर्षसम्म आईपुग्दा सुन्य प्राय भयो । पार्टी केन्द्रको योजनामा कहिल्यै परेन । एमाओवादी सम्बन्ध एकिकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघले केही वर्ष अघि घटनास्थलमा सहिदस्मारक बनाउन पहल गर्ने भनेर कागजमा निर्णय गरेपनि त्यसले व्यवहारिक रुप पाउन सकेन । अरु माओवादी पार्टीहरुले चैत्र ५ गतेको दिन तामझामसहित घटनास्थलमा गएर भाषण गर्ने भन्दा अरु केही गरेन । तर यस पटक यो पनि हुन सकेन । साँस्कृतिक प्रतिरोध विवस विस्तारै ओझेल पर्दै गएको छ । यस वर्ष एमाओवादी सम्बद्ध किसानसंघको जिल्लास्तरको कार्यक्रम सोही स्थलमा गर्ने भन्दा बाहेक अरु केही हुन सकेन ।

सायदै सोचेका होलान् ती सहिद हुने जनकलाकारले की १७ वर्ष वित्दा हाम्रो रगतको फाल्सा ६ टुक्रामा विभक्त हुनेछ । च्याङ्बा लामाले सोचेका थिएनन् होला यसरी माओवादी बिग्रन्छ भनेर। कल्पना गरेकी थिइनन् होला निर्मला देवकोटाले यस्तो हुन्छ भनेर ।

आज गुम्बासिह तामाङको घरको आगन उस्तै छ । चिनिमायाले बाख्रा चराउने जंगलको बाटो उस्तै छ । अनि उस्तै छ, सुभद्रा सापकोटाले गठ्टा खेल्ने आगनको रंग । बरु हुँइकिएकै छन् नेता महोदयका गाडीहरु राजमार्गमा ।

सहिदलाई सम्झने दिनहरुमा नेताहरुको कम ध्यान जानुले गम्भीर संकेत देखाउँछ । सहिदलाई सम्झनु भनेको आफूले तरिआएको बलिदानको यात्रा सम्झनु हो । यसप्रति पार्टीहरुको ध्यान जान आवश्यक छ । किनकी आजको माओवादी जहाँ जहाँ छन् तिनै सहिदहरुको रगतको जगमा उभिएको हो । सहिदलाई विर्सेर माओवादी कहि पनि पुग्न सक्दैन ।

यसमा तपाइको मत