काठमाडौं, — नेपाली ग्रामीण तथा पारिवारिक कथावस्तुमा आधारित नयाँ टेलिशृङ्खला ‘भुड्की’ शनिबारदेखि ‘चम्किलो नेपाल’ (Chamkilo Nepal) युट्युब च्यानलमार्फत औपचारिक प्रसारणमा आएको छ। पहिलो भागको प्रसारणसँगै यस शृङ्खलाले दर्शक वर्गमा राम्रो चासो र प्रतिक्रिया बटुल्न सफल भएको छ।
सबैथोक गुमाएका दाजु–बहिनीको सङ्घर्षपूर्ण जीवनको कथामा बुनिएको यस टेलिशृङ्खला पूर्ण रूपमा पारिवारिक र सन्देशमूलक रहेको निर्माण पक्षले जनाएको छ। मोफसलका चर्चित तथा अनुभवी कलाकारहरूको जीवन्त अभिनयले पहिलो एपिसोडदेखि नै दर्शकको मन जित्न सफल भएको शृङ्खलाका कथाकार तथा कलाकार सागर खनालले जानकारी दिनुभयो।
बलियो कथा र अनुभवी कलाकारको साथ
यस शृङ्खलाको मुख्य सबल पक्ष यसको यथार्थपरक कथा र पात्रहरूको चयन हो। जसमा दर्जनौँ नयाँ अनुहारका साथै मोफसलमा रहेर लामो समयदेखि कला क्षेत्रमा सक्रिय कलाकारहरू सागर खनाल, टेक जीएम, हीरा थापा मगर र चोप सिलवाल लगायतका चर्चित कलाकारहरूको प्रमुख अभिनय रहेको छ। यसअघि सयौँ म्युजिक भिडियो, चलचित्र र सर्ट फिल्महरूमा आफ्नो सशक्त अभिनयमार्फत दर्शकको मन जितेका यी कलाकारहरूको उपस्थिति थपिएको हुँदा ‘भुड्की’ ले नेपाली टेलिशृङ्खलाको क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने विश्वास लिइएको छ।
भविष्यका शृङ्खलाहरू थप रोमाञ्चक हुने दावी
सुनील विश्वकर्माको निर्देशन तथा सम्पादनमा तयार पारिएको यस टेलिशृङ्खलाले समाजका विभिन्न यथार्थ पक्षहरूलाई कलात्मक ढङ्गले पर्दामा उतारको छ। पहिलो भागको प्रस्तुति र कथाले दर्शकको ध्यान खिचेसँगै आगामी शृङ्खलाहरू अझ बढी बुलन्द र रोचक हुने निर्देशक सुनील विश्वकर्माले जानकारी दिनुभयो।
सामाजिक यथार्थ र पारिवारिक संवेदनाले भरिपूर्ण टेलिशृङ्खला ‘भुड्की’ को आगामी भागहरूले दर्शकको अपेक्षालाई अझ उचाइमा पुर्याउने निर्माण टिमको पूर्ण आश्वासन रहेको छ।



