
काठमाडौं। नृत्य निर्देशक संघ नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक महोत्सवमा संस्थागत सहभागिता जनाउने भएको छ। संघको ललितपुर जिल्ला शाखाको प्रतिनिधित्व गर्दै ८ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ।
नृत्य निर्देशक संघ नेपाल, ललितपुर जिल्ला शाखाका अध्यक्ष प्रदीप रमण सिंह डंगोलको संयोजकत्वमा उक्त टोलीले ४३औँ थाइल्यान्ड अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव (Thailand International Folklore Festival – TIFF) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछ।
महोत्सवमा सहभागी हुने नेपाली टोलीमा संघका निवर्तमान केन्द्रीय सहकोषाध्यक्ष भोगेन्द्र मानन्धर, ललितपुर जिल्ला शाखाका उपाध्यक्ष मिनर्वा शर्मा राजोपाध्याय, रचना महर्जन, कुसुम राजवंशी, कमला प्रधान, राजु महर्जन, प्रिस्का डंगोललगायत ८ जना रहेका छन्।
थाइल्यान्ड प्रस्थान गर्नुअघि टोलीलाई नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, सचिव कृष्ण रसाल, सहकोषाध्यक्ष चुडामणि फुयाल तथा केन्द्रीय कार्यसमिति सदस्यद्वय छिरिङ लामा र देवराज गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर बिदाइ गरेका थिए।
नेपाली मौलिक कला, संस्कृति तथा लोकनृत्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै नेपालको सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने यस सहभागितालाई संघले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसले नेपाली नृत्य क्षेत्रको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुका साथै नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।



