
काठमाडौँ। कलाकारिता क्षेत्रमा अगाडि बढ्न धेरै सुविधाभन्दा पनि निरन्तरको मेहनत, लगनशीलता र आत्मबल आवश्यक पर्छ। यो भनाइलाई चरितार्थ गरेकी छिन्, उदयीमान मोडल तथा अभिनेत्री अनिता खड्का (अनु)ले । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ५ मा बुबा रत्नबहादुर खड्का र आमा जमुना कुमारी खड्काको कोखबाट जन्मिएकी २१ वर्षीया अनु कलाक्षेत्रमा संघर्षरत छिन् । रामेछापको बिकट गाउँबाट राजधानी काठमाडौं आएर कला क्षेत्रमा औपचारिक प्रवेश गरेको तीन वर्षभन्दा बढी भइसकेको छ उनले । यो छोटो अवधिमै आफ्नो मेहनतले दर्शकको मनमा छुट्टै पहिचान बनाउन सफल भएकी छिन् अनु ।

उनको पहिलो सांगीतिक म्युजिक भिडियो ‘रातमा सपना’ हो। यसै भिडियोबाट औपचारिक रूपमा कलायात्रा थालेकी उनले अहिलेसम्म दर्जनभन्दा बढी गीतका म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन्। उनको यो अभिनय यात्रा निरन्तर जारी छ। हाल अनु रामेछाप सांस्कृतिक कलाकार समाज गोकुल गंगा गाउँपालिका कार्यसमितिको अध्यक्ष समेत हुन् ।
…
अनुको कला यात्रा म्युजिक भिडियोमा मात्र सीमित रहेन , उनले टेलिश्रृंखला र चलचित्रतर्फ पनि आफ्नो अभिनय क्षमतालाई तिखार्दै लगेकी छिन्। हालै उनी लोकप्रिय टेलिश्रृंखला ‘मायादेवी’ लगायत विभिन्न सिरियलहरूमा नियमित रूपमा अभिनय गरिरहेकी छिन्, जसलाई दर्शकहरूले रुचाएका छन्। यसबाहेक उनले ‘आफ्नो भाग्य’, सर्ट फिल्म लगायत अन्य विभिन्न भिडियो प्रोजेक्टहरूमा समेत दमदार अभिनय कला प्रस्तुत गरेकी छिन्।

स्कुल र कलेजमा अध्ययनरत छदा नै नाटकहरू खेलेर आफ्नो अभिनय कला निखार्ने अवसर पाएकी अनु एक राम्रो उद्घोषिका पनि हुन्। उनको यो बहुमुखी प्रतिभाले उनलाई कलाकारितामा अगाडि बढ्न सहयोग पुर्याएको छ। कलाक्षेत्रमा तीन वर्षको यात्रा तय गर्दा उनले थुप्रै उतारचढाव र चुनौतीहरूको पनि सामना गरिन्। यही अनुभवलाई संगाल्दै अनु भन्छिन्, “मैले यहाँसम्म आइपुग्दा सिकेको सबैभन्दा ठूलो कुरा भनेको संघर्ष नै जीवन हो। संघर्षले योग्य कलाकार बनाउन सक्छ ।”

अनु अहिले आफ्नो बाल्यकालको सपनालाई साकार पार्न र कलाक्षेत्रमा बलियो स्थान बनाउन दिनरात कडा मेहनत गरिरहेकी छिन्। अटल आत्मविश्वास र निरन्तरको प्रयासले नेपाली कलाक्षेत्रमा आगामी दिनमा अनुले अझ ठूलो उचाइ लिने बिश्वास गर्न सकिन्छ ।



