नेपाली टेलिसिरियलको क्षेत्रमा सिरियल ‘भावीको लेखान्त’ अहिले चर्चामा


काठमाडौं । नेपाली टेलिसिरियलको क्षेत्रमा सिरियल ‘भावीको लेखान्त’ अहिले चर्चामा छ । पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र मनोवैज्ञानिक विषयवस्तुमा आधारित यस सिरियलले दर्शकको राम्रो साथ पाइरहेको छ। हाल यस सिरियलको १७९औँ भाग पनि सार्वजनिक भइसकेको छ ।
सिरियलका लेखक तथा निर्देशक लेखराज भुषाल (लेखान्त) बहुआयामिक व्यक्तित्व हुन् । अभिनय, लेखन र निर्देशनमा सक्रिय उनलाई हास्य टेलिसिरियल ‘मेरी बास्सै’को घिरौँले पात्रको रूपमा धेरैले चिन्छन् । उक्त भूमिकाले उनलाई दर्शकमाझ छुट्टै पहिचान दिलाएको थियो , अहिले निरन्तर उनी यहि भुमिकामा मेरी बास्सैमा सक्रिय छन् ।
कलाकारका रूपमा स्थापित भुषालले पछिल्लो समय लेखन र निर्देशनमा पनि आफ्नो क्षमता देखाउँदै आएका छन्। ‘भावीको लेखान्त’मार्फत उनले पारिवारिक र सामाजिक विषयलाई सरल तथा प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्। कथावस्तु र कलाकारको अभिनयले सिरियललाई दर्शकमाझ लोकप्रिय बनाएको छ।
हाइलाइट्स इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको सिरियलमा रामचन्द्र अधिकारी, मुकुन्द मैनाली, तारा केसी, लेखराज भुषाल, गीता थापा, गोमा न्यौपाने, सृष्टि केसी, सबिन घिमिरे, रमेश ओली, समिता रिजाल, सामाना सिटौला , नवीन रेग्मी , हेमन्त घतानीलगायत कलाकारको अभिनय छ।
जनक तामाङ निर्माता रहेको सिरियलको छायांकन देव बस्नेतले गरिरहेका छन् । सम्पादन सन्दिप राजेश चौधरीको छ भने अमन मानन्धरले सिरियलमा ग्राफिक्स तथा आईटी व्यवस्थापन गरेका छन्। मेकअपको जिम्मेवारी शान्ति घतानीले सम्हालेकी छिन् ।
सिरियलको गीत टीकाभक्त जिरेलले लेखेका हुन्। गीतमा विनय कार्की र जय देवकोटाको संगीत छ भने विनय कार्की र सङ्गीता रानापायलले गीतमा स्वर दिएका छन्।
‘भावीको लेखान्त’ हरेक मंगलबार बेलुका ७ बजे हाइलाइट्स नेपाल (Highlights Nepal) को आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ।

यसमा तपाइको मत