गायनसँगै अभिनय र मोडलिङमा पहिचान बनाउने लक्ष्यमा अस्मिता फुँयाल


काठमाडौं । हरेक मानिसका आफ्नै सपना र लक्ष्य हुन्छन्। कसैले ती सपना पूरा गर्न पढाइलाई प्राथमिकता दिन्छन् त कसैले कला, साहित्य र सिर्जनाको बाटो रोज्छन्। बाल्यकालदेखि नै कला र अभिनयप्रति आकर्षित अस्मिता फुँयाल पनि गीत संगीत तथा कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउने लक्ष्यसहित अघि बढिरहेकी छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–४, टौखालमा जन्मिएकी अस्मिताको रुचि सानैदेखि गीतसंगीत र अभिनयमा थियो। रेडियो तथा टेलिभिजनमा बज्ने गीतसंगीतले उनलाई आकर्षित गर्थे। गाउँघरमा आयोजना हुने मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रमले उनको कलाप्रतिको रुचिलाई थप बलियो बनाउँदै लग्यो। विद्यालयमा हुने विभिन्न सांस्कृतिक कार्यक्रम र प्रतियोगितामा सहभागी हुँदै उनले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउँदै गइन्।
उनले स्थानीय श्री अम्बिका बाल विकास निम्न माध्यमिक विद्यालयबाट अध्ययन गरेकी हुन्। पढाइमा पनि अब्बल अस्मिता विद्यालयमा सधैँ प्रथम स्थान हासिल गर्थिन्। अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रहने उनको बाल्यकाल पढाइ र कलाप्रतिको लगावसँगै बित्यो। सानैदेखि कलाकार बन्ने सपना देखेकी उनले विद्यालयका कार्यक्रमलाई आफ्नो प्रतिभा देखाउने प्रारम्भिक मञ्चका रूपमा पाइन् ।


समयसँगै उनको रुचि गायनतर्फ पनि विस्तार भयो। अहिले उनी गायन क्षेत्रमा सक्रिय छिन्। उनका केही गीतसमेत रेकर्ड भइसकेका छन्। गायनलाई आफ्नो सिर्जनात्मक यात्राको एउटा महत्वपूर्ण पाटो बनाएकी अस्मिताको रुचि अभिनय र मोडलिङमा पनि उत्तिकै छ। त्यसैले उनी गायनसँगै कलाकारिताका अन्य विधामा समेत आफ्नो क्षमता विकास गर्दै अघि बढ्न चाहन्छिन्।
अस्मिताका लागि कलाकारिता केवल रहर मात्र होइन, आफ्नो प्रतिभा चिनाउने र भविष्य निर्माण गर्ने माध्यम पनि बन्दै गएको छ ।


कुनै एउटा विधामा सीमित नभई गायन, अभिनय र मोडलिङमा समेत सम्भावना खोजिरहेकी उनी निरन्तर मेहनत र साधनाबाट आफ्नो लक्ष्य हासिल गर्न सकिने विश्वास राख्छिन्।
अस्मिता भन्छिन्, ‘गायन होस् वा कलाकारिताको अन्य विधा, साधनाबिना केही पनि सम्भव हुँदैन। कुनै पनि क्षेत्रमा सफल हुन निरन्तर अभ्यास, मेहनत र धैर्य आवश्यक हुन्छ । म पनि आफ्नो रुचिको क्षेत्रमा निरन्तर साधना गर्दै अघि बढ्नेछु।’

उनको विश्वास छ– सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई पूरा गर्न निरन्तर मेहनत गर्नुपर्छ। यही विश्वासलाई आत्मसात् गर्दै उनी आफ्नो सांगीतिक तथा कलाकारिता यात्रालाई थप उचाइमा पुर्‍याउने प्रयासमा छिन्।

यसमा तपाइको मत