राष्ट्रविखण्डनका सपना देख्नेहरुलाई घाँस हालेर दूध आउँछ भन्ने नठाने हुन्छ : प्रधानमन्त्री


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालालाई विखण्डन गर्ने सपना कसैलाई नदेख्न चेतावनी दिएका छन् । राष्ट्रलाई विखण्डन खोजिए सरकारले नियन्त्रण गर्ने उनको भनाई छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको १०औँ महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीलेले नेपाललाई विखण्डन गर्ने सपना देखेकाहरुलाई घाँस हाले पनि त्यो सपना पुरा नहुने बताए । उनले अघि भने, ‘त्यस्ता तत्वहरुलाई कसैले घाँस हाल्छ भने त्यस्ता तत्वबाट दुध आउँछ भन्ने नठाने हुन्छ । म प्रधानमन्त्रीको हैसियतमा भन्न चाहन्छु, यो देश टुक्रिन सक्दैन, टुटाउन दिइँदैन । टुक्राउने खोज्नेहरुलाई नियन्त्रण गरिन्छ ।’

प्रधानमन्त्री ओलीले मुलुक टुक्राउन खोज्नेहरुलाई नियन्त्रण गरिने गर्ने समेत बताए। भने, ‘म तपाईलाई यो देशको प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु, यो देश टुक्रिन सक्दैन, टुक्राउन दिइँदैन, उनले भने,‘टुक्राउन खोज्नेहरुलाई नियन्त्रणमा राखिन्छ। यो विश्वास म दिलाउन चाहन्छु।’

मैले कहाँ गुट गरेँ ?
अर्को एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले एमालेभित्र आफूले गुट नगरेको दाबी गरे । ओलीले भने,‘मैले कहाँ गुट गरेको छु ? मैले कसैलाई यता लाग पनि भनेको छैन, उता लागे पनि भनेको छैन, यसको बिरुद्धमा बोल भनेर भनेको छैन ।’ सचिव एंव मोर्चा प्रमुख गोकर्ण विष्ट पनि उपस्थित कार्यक्रममा ओलीले ठट्टाको शैलीमा भने,‘इन्चार्ज साब यही हुनुहुन्छ नी, मोर्चा संगठनका प्रमुख मैले उहाँलाई त भनेको छैन, अरुलाई के भन्नु ?’

संविधानसभाबाट जारी भएको संविधानले सबै वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाएको भन्दै उनले अनावश्यक तर्क गरेर मुलुकलाई अप्ठ्यारोमा पार्ने काम कोही कसैले गर्न नहुने स्पष्ट पारे । भने ‘संविधानको विषयमा नेपाली जनताको गुनासो छैन । बिहे गरेर आउने बित्तिकै विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् । सो प्रक्रियाबाट नागरिकता पाएका सांसद र मन्त्रीसमेत बनेका छन् । सबै वर्ग, क्षेत्र र लिङ्ग अधिकार सम्पन्न भएका छन् । तर विदेशतिर बसेर केही मान्छे नेपालको संविधानमा यो छैन र ऊ छैन भन्दै अर्ति उपदेश दिइरहेका छन् । यो हामीलाई सह्य छैन ।’

यस्तै आगामी एक वर्षभित्र मुलुकभित्रका सबै तुइन विस्थापन गरिने जानकारी दिदै प्रधानमन्त्री ओलीले आगामी वैशाख १ गते पोखरा क्षेत्रीय विमानस्थलको शिलान्यास गरिने र दुई वर्षभित्र केरुङ–त्रिशुली सडक दुई लेनको बन्ने दृढता व्यक्त गरे ।

 

यसमा तपाइको मत