काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले आफूलाई नयाँ संविधानमा चित्त नबुझेको खुलासा गरेका छन् ।
पत्रकार जगत नेपालद्वारा लिखित पुस्तक ‘पहिलो संसदः बीपी–महेन्द्र टकराव’ लोकार्पण गर्दै पूर्व राष्ट्रपति यादवले संविधान निर्माण प्रक्रियामा आफूलाई धेरै कुरा चित्त नबुझदा समेत लोकतान्त्रिक पद्धती अनुसार अघि बढेको बताए ।
उनले आफू लोकतान्त्रिकबाटोबाट अघि बढेका कारण नै ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको संविधान जारी गरिदिएको बताए । पौने ३ करोड नेपाली जनताले प्रतिनिधित्व गरेको सभाबाट संविधान आएको हुनाले आफूले नरोकेको उनको भनाइ छ ।
आफूलाई चित्त नबुझे पनि लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर नै आफ्नो कर्तब्य पूरा गरेको उनले स्पष्ट गरे । उनले दोस्रो संविधानसभामा केही न केहि हडबड भएको उल्लेख गरे ।
राष्ट्राध्यक्ष, संविधानसभा अध्यक्ष, मस्यौदा समितिका संयोजक, संवाद समितिका प्रमुख र प्रधानमन्त्री तथा सम्बन्धित निकायहरुबीच संक्रमण कालमासँगै बसेर छलफल र राष्ट्रिय सहमति गर्नुपर्नेमा त्यसो हुन नसकेको समेत उनले गुनासो गरे । त्यस बेला राष्ट्रिय सहमति नभएर राजनीतिक सहमतिमात्र भएको स्पष्ट गरे ।
०१७ साल दोहोरिन पाएन
संघीय संविधान निर्माणको प्रक्रियामा आफू नभएको भए ०१७ सालको घटना दाहोरिन सक्ने उनले दाबी गरे । उनले आफ्नो स्थानमा अरू कोही भएको भए राजा महेन्द्रले २०१७ सालमा गरेको जस्तो ’कु’ को घटना दोहोरिन सक्ने खुलासा गरेका हुन् ।
यादवले अब एक वर्ष ८ महिना बाँकी रहेको उल्लेख गर्दै संक्रमण काल लामो समयसम्म जान नहुने बताए । यादवले सहमति बनाएर मधेश समस्याको समाधान गर्न समेत सुझाव दिए । मधेशको समस्या समाधान नहुँदा आफूलाई पिडा भइरहेको यादवले बताए ।



