काठमाडौं। एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताकोलागि प्रतिवेदन लेख्न व्यस्त भएका छन् ।
माओवादी पार्टीहरुबीच एकताको टुंगो लागेपछि प्रचण्ड एकता भेलामा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्नका लागि व्यस्त भएका हुन् ।
१२ बुँदे सहमतिमा एकताका न्यूनतम आधारबारे उल्लेख भएपनि भएपनि त्यसलाई विस्तृतमा व्याख्या गर्दै एकता भेलामा प्रस्तुत गर्न प्रचण्डले राजनीतिक कार्यक्रमलाई स्थगित गर्न थालेको उनको सचिवालयले जनाएको छ ।
राजनीतिक प्रतिवेदनमा एकताको आवश्यकता र आगामी कार्यभार, संगठनात्मक एकीकरण बारे उल्लेख गर्ने छन् ।
साथै पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि प्रतिवेदनमा केही कुरा उल्लेख हुने उनी निकट नेताहरुले बताएका छन् ।
माओवादी पार्टीहरुबीच जेठ ६ गते एकीकृत भेला हुने छ । अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदन भेलामा प्रस्तुत गर्नुअगाडि क्रान्तिकारी माओवादीलगायत अन्य माओवादी शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी छ ।
प्रचण्डले जेठ ६ गतेसम्मका लागि आकस्मिक र अनिवार्य भेटघाट भएका अन्य सबै कार्यक्रम स्थगित गरेका छन् भने उनको सचिवालयले अन्य कामका लागि प्रचण्डसँग सम्पर्क नगरी सहयोग गर्न समेत अपील गरेको छ ।



