किसान

- अनुप सुबेदी


 हलोजुवा काँधमा राखि कुद्ने दिन आए
वर्षात् लाग्यो पानीसँग जुध्ने दिन आए
मुरी धान उब्जाउनलाई मानो बीउ छरी
बगाउनु छ पसिनाको खोलो धर्ती भरी
न रातको निन्द्रा अनि न भोक विहानको
फेरि आए दुःखका दिन कठै किसानको
गोरुसँग साइनो लाँउदै भन्दै होहो काले
असारेमा ब्यथा पोख्दै रोप्छन् खेतालाले
भन्नु छैन झरि बादल अनि चर्को घाम
नसकिने कहिल्यै हजुर किसानको काम
पाएनन् खै कहिल्यै पनि पसिनाको मुल्य
किसानको जिन्दगानी भा छ मरेतुल्य
सधैंभरि बोक्नु पर्ने पीर ब्यथाको भारी
किसानको जिन्दगानी न वारी न पारी

यसमा तपाइको मत