भदौ, काठमाडौं । डा. भागवतप्रसाद नेपाल काठमाडौं विश्वविद्यालय (केयु) अन्तरगत चिकित्साशास्त्रका एशोसिएट डीन हुन् । उनका छोरा साहित नेपाल ८१ नम्बरसहित प्रवेश परीक्षामा ‘टपर’ भएका छन् ।
आफ्नै बाबुले बनाएको प्रश्नपत्रमा छोरो प्रथम हुनुका पछाडिको रहस्यचाहिँ संसदीय छानविन समितिले उजागर गरिदिएको छ ।
‘टपर’ भएपछि छोराको सनाखत !
चिकित्साशास्त्रको प्रवेश परीक्षाका लागि प्रश्नपत्र निर्माणका क्रममा विज्ञहरुको टोली बनाइएको थियो । जसमा अख्तियारको टोलीसँगै खटिएका अन्य विज्ञहरु पनि थिए । उनीहरुलै नै प्रश्न पत्र बनाए ।
यसक्रममा केयुका एशोसिएट डीन डा. नेपालले बारम्बार प्रश्नपत्रको समूह (Question Bank) भित्रबाटै पर्ने गरी प्रश्नपत्र बनाउन जोड दिए । विज्ञहरुले नमान्दा उनले माइन्यूट नै गरेर ल्याएपछि प्रश्नपत्रको समूहबाट प्रश्नपत्र बनाइयो । जेठ १५ मा भएको परीक्षामा ८१ अंक ल्याएर सहित टपर बने ।
यसैक्रममा काठमाडौं विश्वविद्यालयको परीक्षा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत तानियो । अख्तियारले काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गरेको भन्दै डा. गोविन्द केसीले अख्तियारका पदाधिकारीलाई कारवाही गर्न माग गरे ।
त्यसलगत्तै व्यवस्थापिका संसदको सुशासन समितिअन्तरगत एउटा छानविन उपसमिति गठन भयो । पदमनारायण चौधरी संयोजक रहेको संसदीय समितिका सदस्यमा उदय नेपाली, जनकराज जोशी, नरसिंह चौधरी र मिलनकुमारी राजबंशी सदस्य थिए ।
तर, संसदीय समितिको छानविनका क्रममा अर्को रहस्य खुल्यो, सहित नेपाल त आफ्नै बाबुले बनाएको प्रश्नमा पो टपर बनेका रहेछन् । छानविनका क्रममा एशोसिएट डीन नेपाल प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्मै संलग्न भएको भेटियो ।
काठमाडौं विश्वविद्यालयले लिएको चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रमको प्रवेश परीक्षामा मिलेमतो भएको समितिको प्रतिवेदनमा स्पष्ट उल्लेख छ ।
यसबारे संसदीय उपसमितिले विश्वविद्यालयका रजिष्ट्रार, डीन र चिकित्साशास्त्रका एशोसिएट डीन नेपालसँग छलफल गर्यो । यसक्रममा रजिष्टार र डीनले प्रश्नपत्र बनाउने डा. नेपालका छोरासमेत परीक्षामा संलग्न भएको आफूहरुलाई थाहै नभएको वयान दिए ।
‘नतिजा आएपछि टपर त नेपाल नै रहेछ, चिन्नुहुन्छ ? भन्दा मेरो छोरा हो भन्नु भएपछि मात्र हामीले थाहा पायौं’ उनीहरुले संसदीय समितिलाई दिएको वयानमा भनेका छन् ।
विभागीय कारवाहीको सिफारिस
छोरालाई प्रश्नपत्र चुहाएको खुलासा भए पनि डा. नेपाललाई काठमाडौं विश्वविद्यालयले अहिलेसम्म कुनै कारवाही गरेको छैन ।
तर, सुशासन तथा अनुगमन समिति अन्तरगतको उपसमितिले एशोसिएट डीन डा. भागवत नेपालको संलग्नता संयोग मात्र नभएको भन्दै विभागीय कारवाहीको सिफारिस गरेको छ ।
उपसमितिको प्रतिवेदनमा भनिएको छ,- ‘प्रत्यक्ष स्वार्थ द्वन्द्व देख्दादेख्दै र काठमाडौं विश्वविद्यालय परीक्षा सम्वन्ध नियम २०५० को नियम ४.३ को व्यवस्था विपरीतको कार्य देखिएकाले डा. भागवत नेपालको परीक्षामा संलग्नतालाई संयोग मात्र नभई कानुन विपरीतको आचरण देखिएकाले काठमाडौं विश्वविद्यालयले आवश्यक कारवाहीको विषय बनाउनू ।’
आरोपबाट अख्तियारलाई फुर्सद !
संसदीय उपसमितिले केयूले लिएको एमडी/एमएसको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेपलाई भने मानेको छैन । आपसी समझदारीमा भएको देखिएको भन्दै उसले अख्तियार र विश्वविद्यालयलाई आफ्नो दायरा र सीमाभित्र रहन सचेत मात्रै गराएको छ ।
यो प्रतिवेदन आएपछि अख्तियारका पदाधिकारीले केयु परीक्षा विवादबाट फुर्सद पाएको छ । डा. गोविन्द केसीले यही प्रकरणलाई लिएर अख्तियारका पदाधिकारीमाथि महाअभियोग लगाउनुपर्ने माग गर्दै आएका थिए ।
अख्तियारले काठमाडौं विश्वविद्यालयमा छानविन/अनुसन्धान गर्नुपूर्व विश्वविद्यालयलाई जानकारी गराइनुपर्नेमा नगराएको पाइएको भने संसदीय उपसमितिको प्रतिवेदनमा भनिएको छ ।
अख्तियारका आयुक्त राजनारायण पाठककी छोरीसमेत परीक्षामा फेल भएको प्रतिवेदनमा चर्चा गरिएको छ । अख्तियारले विद्यमान ऐन कानूनमा परिमार्जन गर्नुपर्ने र विश्वविद्यालयका केही ऐन नियमहरु परिमार्जन गरिनुपर्ने प्रतिवेदनमा भनिएको छ ।



