विप्लवले इतिहासमा कतै पनि तानाशाही शासकहरुलाई प्रहरी र सेनाले बचाउन नसकेको बताए


biplabकार्तिक । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले इतिहासमा कतै पनि तानाशाही शासकहरुलाई प्रहरी र सेनाले बचाउन नसकेको बताएका छन् । पछिल्लो समय सरकारले सामान्य शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न समेत नदिइएको र दमन गर्न थालिएको दृष्टान्त प्रस्तुत गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । उनले विदेशी शक्तिहरुको आडमा बसेर नेपाली जनताको जनवादी अधिकारलाई खोस्ने र छिन्ने षड्यन्त्रमा सरकार लागेको बताएका छन् ।
राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेपालको राजनीतिमा घुमिफिरि सधै पुराना शक्तिहरु नै हावी हुने गरेको दुःखद विडम्वना दोहोरिदै गएको बताए । विभिन्न समयमा नेपाली जनताले ठूला आन्दोलन गरेको तर सधै राजनीतिक नेताहरुले आत्मसमर्पण गरेर पुरानै शक्तिमा विचलन हुने र जनताले सधै धोका पाउने गरेको उनले बताए । त्यसको मुख्य कारण पुरानो सत्तालाई आमूल परिवर्तन नगरेर टालटुल पारेर जाने आत्मसर्मपणकारी प्रवृति रहेको उनले बताए । लामो समयदेखि चल्दै आएका राजनीतिक लडाइँमा सधै अन्ततः जनतालाई धोका दिइदै आएको र नेताहरु पुरानै सत्तामा आत्मसमर्पण गरेर वेइमानी गर्दै आएको बताउँदै उनले संसदीय व्यवस्था नेपाली जनताको प्रगति, विकास र समृद्धिको सबैभन्दा ठूलो बाधक रहेको बताए । संसदीय व्यवस्था रहँदासम्म नेपालमा शान्ति, स्थिरता नआउने र नेपालको विकास र आर्थिक समृद्धि पनि कुनै हालतमा पनि सम्भव नभएको उनले दावी गरे ।
नेपालका सबै उत्पीडित जाति, जनजाति, समुदाय र क्षेत्रलाई सबैभन्दा पहिले राज्यसत्ताको प्रश्न हल गर्ने कुरामा ध्यान उनले आग्रह समेत गरे । त्यसका लागि आफ्नो पार्टीले सबैसँग सहकार्य र कार्यगत एकता गर्ने बताउँदै संसदीय व्यवस्थालाई मलजल गर्ने वा घुमाइफिराई फेरि त्यही बाटोमा जाने कुरामा माओवादीले कुनै हालतमा पनि सहमति जनाउन नसक्ने बताए । उनले केही राजनीतिक दलहरुमा अहिले पुरानो घरलाई टालटुल पारेर त्यही पुरानो घरभित्र बस्ने साँघुरिएको चेतना रहेको बताउँदै त्यसबारे प्रष्ट हुन र मुक्त हुन पनि उनले आह्वान गरे ।
संसदीय व्यवस्थालाई जरैदेखि उखेलेर फाल्ने र नेपालको आमूल रुपान्तरण गर्ने आफ्नो पार्टीको उद्देश्य रहेको प्रष्ट पार्दै यो बाटोमा लामबद्ध हुन आम जनतालाई उनले आह्वान पनि गरे । त्यो बाटोलाई छेक्न सरकारले जतिसुकै बल प्रयोग गरे पनि आफूहरुले त्यसलाई पराजित गर्ने उनले दावी गरे । यो आम जनतासँग जोडिएको, नेपालको स्वतन्त्रता, मुक्ति र प्रगतिसँग जोडिएको विषय भएकोले राज्यका सुरक्षा निकायलाई त्यसबारे प्रष्ट हुन पनि उनले आग्रह गरे । आफूहरुको संघर्ष सुरक्षा निकायसँग नभई दलाल प्रवृति र दलाल राज्यसँग भएकोले त्यसमा सहकार्य गर्न समेत उनले आग्रह गरे । सो क्रममा उनले दलालहरुको इसारामा जागिरका लागि जनताको अधिकारको आन्दोलनमा दमन गर्ने नसोच्न पनि प्रहरी अधिकारीहरुलाई उनले आग्रह गरे ।

यसमा तपाइको मत