त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै: एक प्राध्यापकको भागमा १३ विद्यार्थी


पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ। विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ। विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ।

स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन्। त्रिविको अद्यावधिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७१-७२ मा एक लाख ४८ हजार एक सय ४१ विद्यार्थी रहेकोमा चालू आव ०७२-७३ मा ९९ हजार ४५ मा झरेको छ। ४९ हजार ९६ विद्यार्थी संख्या घटेको त्रिविको रेकर्ड छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आव ०७०-७१ मा भने आंगिक क्याम्पसमा दुई लाख ७३ हजार तीन ४९ विद्यार्थी रहेको त्रिवि योजना महाशाखाले जनाएको छ। ०७१-७२ मा अघिल्लो वर्षको तुलनामा एक लाख २५ हजार दुई सय आठ विद्यार्थी घटेका थिए।

त्रिविमा सहायक प्रशिक्षकदेखि प्राध्यापकसम्म गरी सात हजार पाँच सय ९२ शिक्षक रहेको योजना महाशाखाको तथ्यांक छ। यस हिसाबले एक शिक्षकलाई १३ विद्यार्थीको भार पर्छ।

अझै शिक्षक संख्या थपिँदै छन्। यस वर्ष खुला प्रतिस्पर्धाबाट झन्डै ६ सय उपप्राध्यापक थपिने त्रिविका रजिस्ट्रार डिल्ली उप्रेतीले जानकारी दिए। उपप्राध्यापक तहको लिखित नतिजा आएपछि अहिले धमाधम अन्तर्वार्ता भइरहेको छ। नयाँ थपिएपछि शिक्षकको भार झन् कम हुनेछ।

यसमा तपाइको मत