पुस, काठमाडौं । संसदको चौथो ठूलो दल राप्रपाले संविधान संशोधन विवाद टुंग्याउन संयन्त्र बनाउने प्रस्ताव राखेको छ ।
सभामुख ओनसरी घर्ती मगरको आहृवानमा सोमबार बसेको प्रमुख सात दलको बैठकमा राप्रपा अध्यक्ष थापाले एक महिनाभित्र विवाद टुंग्याउने गरी संयन्त्र गठनको प्रस्ताव राखेका हुन् ।
सरकार संशोधन फिर्ता नलिने र एमालेले सदन चल्न नदिने अडानमा बसिरहँदा मधेसवादी दलहरुलाई संविधानको दायराभित्र ल्याउन नसक्ने र ०७४ माघ ७ भित्र चुनाव गर्न नसकेेर संविधान नै फेल हुने खतरा रहेको उनको विश्लेषण थियो ।
थापाले प्रमुख दलका शीर्ष नेताहरुकै संयन्त्र बनाएर संशोधनमा सहमति खोज्नु पर्ने बताए । साथै तत्काल निर्वाचनको मिति घोषणा गर्ने र संसदको अवरोध अन्त्य गर्ने राप्रपाको प्रस्ताव छ ।
बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘यसमा प्रमुख दलहरुको ध्यानाकर्षण भएको मैले पाएको छु । तर, केहीले पनि कमेन्ट भने गरेका छैनन् ।’



