हरेक गाविसमा साझाको पुस्तकालय राख्न सरकारलाई प्रस्ताव


काठमाडौं । साझा प्रकाशनले हरेक हरेक गाविसहरुमा पुस्तकालय स्थापना गरी साझाका पुस्तक खरिद गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष प्रस्ताव राखेको छ ।

Sajha-Publicationआर्थिक संकटबाट गुज्रिरहेको साझा सञ्चालक समितिले सोमबार उपप्रधान एवम् स्थानीय विकास मन्त्री कमल थापालाई भेटेर जिविस, नगरपालिका र गाविसमा पुस्तकालय स्थापना गरी पुस्तक खरिद गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको हो ।

साझा प्रकाशनका सञ्चालक दीनानाथ शर्मा, प्रदीप नेपाल, प्रा. डा. कृष्णहरि बराल र गोरखापत्रका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ रोदनको उपस्थितिमा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रपसाद शर्माले स्थानीय विकास मन्त्री समेत रहेका थापालाई उक्त प्रस्ताव राखेका हुन् ।

‘भाषा साहित्य र वाङ्मयको श्रीवृद्धिका लागि राज्यको ऐतिहासिक दायित्व निर्वाह गरेको साझा प्रकाशनको पठन संस्कृति अभिवृद्धि गर्ने परियोजनाअनुरुप पुस्तकालय स्थापनाको प्रस्ताव राखेका हौं,’ महाप्रवन्धक शर्माले भने ।

आफूहरुको प्रस्तावलाई स्थानीय विकासमन्त्री थापाले सकारात्मकरुपमा लिएको शर्माले जानकारी दिए । ‘पहिलो चरणमा नगरपालिकाबाट काम थालनी गर्ने बचन उहाँले (थापाले) दिनु भएको छ,’ शर्माले भने, ‘यसै बर्षबाट २१७ नगरपालिकामा यो योजना लागू गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।’

मन्त्री थापाले पुस्तकालयको नाम ‘साझा पुस्तकालय’ राख्न पनि सुझाव दिएको महाप्रवन्धक शर्माले जानकारी दिए ।

 

यसमा तपाइको मत