गोंगबुँ बिच विनायक

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा -४ ,काभ्रे


गणेश राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्नहर्ताका रुपमा हिन्दुहरुले पुज्दै आएकाछन्। हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवता नै गणेश हो। गणेशलाई  सिद्धि दिने सिद्धि विनायक भनेर पनि पूजा गरिन्छ। गणेशका ऋद्धि र सिद्धि दुई श्रीमती भएको मानिन्छ। अठार पुराणहरु मध्ये शिवमहापुराणमा गणेशको बिशेष पुजा बिधि लगायत गणेशलाई मान्नु पर्ने कारण र बिधि बिधानाबारे व्याख्या गरिएको छ  । गणेश भन्ने बित्तिकै हामी हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान भगवानलाई सम्झिन्छौ।

नेपालका चार प्रशिध्द गणेशहरु  भक्तपुरको सूर्य विनायक, चाबहिलको चन्द्रविनायक , चोभारको जल विनायक र काठमाडौँ मरूको अशोक विनायक हुन्।गणेश चतुर्थीका दिन हिन्दुहरुले बडो धुमधामका साथ गणेश उत्सव मान्दछन् । यो उत्सव छिमिकी राष्ट्र भारतको महाराष्ट्र लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशीसम्म दस दिन गणेशोत्सव मनाइन्छ ।

काठमाडौँको चक्रपथ गोंगबु चोकबाट करिब ५०० मि उत्तरमा गोंगबु बिच विनायक मन्दिर मूल बाटोको बिचमा नै रहेको छ। बि.सं. १९९७ सालमा तुल्सी नारायाण (जुजु भाई ) मानन्धर र चितालाङ्गबाट बसाई सरेर आएका गोंगबु निवासी रामदास (कलकत्ते ) अन्य युवाहरुको सहयोगमा गणेशको प्रस्तर मुर्ति ल्याई स्थापना गरिएको हो। उक्त गणेशको मुर्ति काठमाडौँ पुरानो भन्सार नजिकै स्थापना गरि राखेको थियो। सोहि गणेशलाई पुजा आजा नगरी अलि हेपिएर राखेको अवस्थामा थियो। भनिन्छ गणेश ल्याउने मध्यको एक जनालाई सपनामा गणेश भगवानले “मलाई लिएर अन्यत्र लैजानु म यसरी हेपिएर बस्न सक्दिन। ” भनेकोले भगवान गणेशको ईच्छा अनुसार ल्याएको हो रे। गणेश भगवानको ईच्छा शक्तिले नै न्ह्योखा टोलका मानन्धरहरु उक्त गणेश गुठीले थाहा पाउँदा पनि फिर्ता लान सकेन। पछि बि.सं.२०२८ सालमा जगत बहादुर मानन्धर , रामदास मानन्धर ,बाबुकाजी महर्जन ,बाबुकाजी कर्माचार्य ,बाबुकाजी मानन्धर ,कृष्ण बहादुर रंजितकार ,सुर्य मानन्धर ,हिराकाजी  र न्हुछे नारायण मानन्धरको संयुक्त टोलीले  गणेश गुठीको

स्थापना गरि, रथ बनाई, नित्य पुजा गरि, जात्रा चलाएको देखिन्छ। समय संगै गोंगबु बीच बिनायायकको मन्दिर हाल सम्म तिन चोटी पुन निर्माण गरेको देखिन्छ। बि.सं.१९९७ ,बि.सं.२०३९ र बि.सं.२०६० गरि मन्दिरको आकार परिबर्तन गरि हाल पित्तलको छानयुक्त दुई तल्ले र फलामको बाराले सुरक्षित गरिएको छ। मन्दिर जस्तै बि.सं.२०३० सालमा बाबुकाजी मानन्धरले निजि रकम राखी पित्तलको गणेशको मुर्ति बनाई दिनु भएको र पछि बि.सं.२०४१ सालमा बाबुकाजी महर्जनले निजी रकमराखी तामाको मुर्ति बनाई दिनु भएको थियो।

 

यसमा तपाइको मत