बनुवा घुम्तीमा पटक-पटक ग्याबिन पर्खाल भत्किँदा राज्यको करोडौँको लगानी खेर गयो


​रसुवा। रसुवाको उत्तरगया गाउँपालिका-५स्थित बनुवा घुम्तीमा सडक डिभिजन कार्यालयले निर्माण गरेको तारजाली (ग्याबिन) पर्खाल पुनः भत्किएको छ। यसअघि निर्माण गरिएका ग्याबिन पर्खालसमेत ढलिसकेको उक्त स्थानमा पटक-पटक पर्खाल भत्किँदा राज्य गम्भीर हुन सकेको छैन, जसले गर्दा राज्यको करोडौँ लगानी बालुवामा पानीसरह बनेको छ।

​दीर्घकालीन समाधान नसोची ‘असारे विकास’ शैलीमा पर्खाल निर्माण गर्दा एकातिर राज्यको ढुकुटी रित्तिएको छ भने अर्कोतिर जोखिमपूर्ण सडकका कारण स्थानीय बासिन्दा र यात्रुहरू सास्ती भोग्न बाध्य छन्। टिकाउ प्रविधि र गुणस्तरीय कामको साटो बर्सेनि एउटै काममा बजेट सिद्धिरहँदा सम्बन्धित निकाय भने मौन दर्शक बनेको स्थानीयको गुनासो छ।
​चर्चित रसुवागढी नाका जोड्ने पासाङल्हामु सडक खण्डअन्तर्गत पर्ने यो सडकसँग सिङ्गो रसुवाको अर्थतन्त्र जोडिएको छ। यो मार्ग यस जिल्लाको मुख्य लाइफलाइन हो तर यसैमा लापरबाही भइरहेको छ।

​यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा स्थानीय सरोज न्यौपाने भन्छन् -, “सडक विभागले यस्ता अति महत्त्वपूर्ण सडकहरू निर्माण गर्दा धेरै गम्भीर हुन जरुरी छ। यो सडक भनेको रसुवाको लाइफलाइन हो, यस सडकबारे दीर्घकालीन रूपमा बनाउन जरुरी छ ।”
बनुवा घुम्तीमा दीर्घकालीन रूपमा पर्खाल लगाउने योजना बनाउन सामाजिक संजालमार्फत स्थानीयहरूले माग गरिरहेका छन् ।

यसमा तपाइको मत