शिव कैलाश कला मन्दिरको आयोजनामा उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता हुँदै


काठमाडौं — कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको शिव कैलाश कला मन्दिरले उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।
विगत २५ वर्षदेखि कला क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले हालसम्म १०० भन्दा बढी विद्यालय, कलेज तथा विभिन्न संघसंस्थामा लोकनृत्य प्रशिक्षण तथा कला सम्बन्धि कार्यक्रम संयोजन गर्दै आएको जनाएको छ।


संस्थाले आयोजना गरेको प्रतियोगिताको अडिसनमार्फत उपत्यकाका ५० विद्यालयबाट करिब ६०० जना प्रतिस्पर्धी छनोट गरिएको कार्यक्रम संयोजक रोशन बुढाथोकीले जानकारी दिए। यस प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी हुनेछन् ।
प्रतियोगिताको अन्तिम चरण आगामी भदौ ३, ४, ५, ६ र ७ गते धनेश्वरस्थित शिव कैलाश कला मन्दिरको आफ्नै सभाहलमा आयोजना हुने संस्थाका अध्यक्ष तथा नृत्य निर्देशक नारायण रिजालले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट १० जना विजेतालाई ट्रफी, प्रमाणपत्र, मेडल तथा गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।
कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ।


शिव कैलाश कला मन्दिरले यसअघि पनि विभिन्न विद्यालय तथा संघसंस्थासँग सहकार्य गर्दै नृत्य तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। छैटौँ संस्करणको प्रतियोगिताले उपत्यकामा रहेका युवा तथा बाल प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

यसमा तपाइको मत