
सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको अध्यक्ष पदमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्तिबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गोरखापत्र संस्थानको अध्यक्ष पद रिक्त रहेकाले भण्डारीलाई जिम्मेवारी दिइएको बताए। सार्वजनिक गरिएको मन्त्रिपरिषद् निर्णयमा भनिएको छ, “गोरखापत्र संस्थानको रिक्त अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरिएको छ।”
भण्डारी यसअघि अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादकका रूपमा कार्यरत थिए।
उनी पत्रकारितासँगै साहित्य क्षेत्रमा पनि चर्चित छन् । उनको ‘बोरा’ र ‘मलाया एक्सप्रेस’ उपन्यास प्रकाशित छन्, जसलाई साहित्यका गम्भीर पाठकले मन पराईरहेका छन् ।
समाचार लेखनको भाषा र शैलीमा केन्द्रित उनको पुस्तक ‘समाचारको भाषा’ पनि पत्रकारिता अध्ययन गर्ने विद्यार्थी ,पत्रकार , भाषाप्रेमीबीच लोकप्रिय छ । भण्डारीले बेलाबेला समसामयिक विषयमा विश्लेषणात्मक लेखन गर्दै आएका छन्।



